रसायनिक मल खरिदमा दिइँदै आएको अनुदान ५०% बढ्यो


काठमाडौं। सरकारले रसायनिक मल खरिदमा दिइँदै आएको अनुदान ५० प्रतिशतले बढाएको छ। आगामी आर्थिक वर्षको बजेटबाट कार्यान्वयन हुने गरी मल खरिदमा दिइँदै आएको अनुदान बढाउने अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका छन्। मल खरिदमा अब ९ अर्ब रुपैयाँ अनुदान उपलब्ध हुनेछ। यसअघि ६ अर्ब रुपैयाँ अनुदान मल खरिदका लागि दिइँदै आएको थियो।

यसैगरी उखु किसानलाई अनुदान दिन ९५ करोड रुपैयाँ विनियोजन गरिएको खतिवडाले बताए। फलफूल उत्पादन पाँच वर्षमा दोब्बर बनाइने खतिवडाले उल्लेख गरे। सबै प्रदेशमा नमुना औद्योगिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गर्ने खतिवडाले बताए। वैदेशिक रोजगारीबाट कृषि सीप सिकेर फर्केका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन गर्ने घोषणा बजेटमा गरिएको छ। कृषकलाई आफ्ना उत्पादनको बजार मूल्य थाहा दिन मोबाइल एप्स सञ्चालन गरिने खतिवडाले घोषणा गरेका छन्।

प्रकाशित मितिः     १५ जेष्ठ २०७६, बुधबार १७:१२  |