काठमाडौं – रोयल इन्फिल्ड बाइकको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले लोकप्रिय मोडल क्लासिक ३५० सीसी गन मेटल ग्रे विथ डिस्क ब्रेक नेपाली बजारमा सार्वजनिक गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमार्फत एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र रोयल इन्फिल्डका अपरेसन हेड मेघराज पौडेलले सो बाइक सार्वजनिक गरे ।
रोयल इन्फिल्ड ३५० सीसी गन मेटल ग्रे स्पोर्टी लुक, म्याट फिनिस, रियर डिस्क ब्रेक जस्ता विशेषतामा उपलब्ध छ । यो बीएस फोर मापदण्डयुक्त बाइक हो । नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्रान्ड मानिने रोयल इन्फिल्डले युवा, व्यवसायी तथा शौखिन समूहको मन जितिरहेको बताइएको छ ।
विवेक अटोमोबाइल्सले आफ्ना १९ वटा शाखा एवं डिलरहरुमार्फत यो बाइकको बिक्री–वितरण प्रारम्भ गरेको छ । सो बाइकमा हेडलाइट केसिङ, ड्युअल डिस्क ब्रेक, ओभल टुल बक्स, एक्सजस्ट फाइन, स्पिडोमिटर डायल, सिंगल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेम्बली र हेडलाइट क्यापमा देख्न सकिन्छ । हाल थपिएको रियर डिस्क ब्रेकका कारण टुरिङ एवं दैनिक राइडिङका लागि सुरक्षित भएको बताइएको छ ।
सो बाइकको मूल्य हाल केही समयका लागि ५ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।नेपाली बजारमा अनौपचारिक रुपमा केही समय अघि देखि नै यो बाइक उपलब्ध भए तापनि आज पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिइएको हो । विवेक अटोमोबाइल्सले सो क्लासिक गन मेटल ग्रे ३५० सीसी पहिलो पटक गत भदौ महिनामा सम्पन्न नाडा अटो शोमा प्रदर्शन गरेको थियो ।