बाघको आक्रमणबाट घाइते उपचारपछि घर फर्किदा भब्य स्वागत


नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरीमा बाघसंग लडेका ५० वर्षीय दीपबहादुर श्रीषको नेपालगन्जमा भव्य स्वागत गरिएको छ । गत १३ गते सोमबार साँझ पाटेबाघको आक्रमणमा परेर श्रीष सहित तीन जना घाइते भएका थिए ।  बाघसंग लडेका श्रीष घाइते भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार गरिएको थियो । करिब १४ दिनपछि श्रीषलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज भएपछि श्रीसका स्वागतका लागि स्थानीय धौलागिरीका बासिन्दा ब्याण्डबाजा सहित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज पुगेका थिए ।

अस्पतालको मुल गेटबाटै श्रीषलाई स्वागत गर्दै नेपालगञ्जको सुर्खेतरोड हुँदै गणेशमान चोकसम्म पन्चेबाजा सहितको ¥याली निकालिएको थियो । धौलागिरी लगेर नाचगान र भोज गरी रमाईलो गरिने कार्यक्रम रहेको स्थानीयले जनाएका छन् । नेपालगञ्जदेखि करिब ९ किलोमिटर दक्षिण पश्चिममा रहेको किरण नालाको झाडीमा लुकेर बसेको बाघले श्रीषको देब्रे पाखुरा ढाड र शरिरका अन्यभागमा आक्रमण गरी घाइते बनाएको थियो ।

स्थानीय दिलबहादुर श्रीषका अनुसार नालाको झाडीमा माछामार्न गएका दुईजनालाई अज्ञात जनावरले आक्रमण गरी घाइते बनाएको भन्ने जानकारी आएपछि घटना भएको स्थानमा कुकुर सहितको समुह बुझ्न जाँदा एक्कासी पाटे बाघले आक्रमण गरेपछि आफ्नो हातमा रहेको रडले प्रहार गरी बाघको आक्रमणबाट दिपबहादुरलाई छुटाएका थिए । बाघ फेलापरेको स्थानमा ग्रामिण बस्ती रहेको र नालाको दुबै छेउमा रहेको झाडीमा बाँके, बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँ प्रवेश गरेको हुनसक्ने आंकलन गरिएको छ ।

प्रकाशित मितिः     २७ जेष्ठ २०७६, सोमबार १२:५६  |