हुवावे नेपाल भन्छ- प्रयोगकर्तालाई कुनै असर पर्दैन


नेपालगन्ज : हुवावे नेपालले अमेरिकी सरकारसँग भएको विवादले आफ्ना फोन प्रयोगकर्ताहरुलाई कुनै असर नपर्ने जनाएको छ।  नयाँ फोनमा फेसबुक, ह्वाटस एप र इस्टाग्राम लगायतका एप नहुने समाचार आइरहेका बेला उसले त्यसको खण्डन गरेको छ।

‘नयाँ फोनहरुमा फेसबुक, ह्वाटस एप र इस्टाग्राम लगायतका एप इस्टल भएर नआउने हो, ‘हुवावे नेपालका एक उच्च तहका कर्मचारीले भने, ‘पछि त्यसलाई डाउन लोड गर्न मिल्छ। ‘

यो कुनै ठूलो समस्या नभएको दावी गर्दै उनले यसले हुवावे स्मार्टफोन प्रयोगकर्तालाई केही असर नपर्ने बताए। आफूलाई चाहिने एप थर्ड पार्टी स्टोरहरुबाट डाउनलोड गर्न सकिने ती कर्मचारीले बताए। हुवावेका लागि पछिल्ला केही महिना महत्वपूर्ण र उत्साहजनक रह्यो।

मोबाइलफोनको बिक्रीमा उल्लेख्य वृद्धि भयो र सोही कारण ह्वावे विश्वकै दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी बन्यो साथै यसको अग्रणी र नवीन फाइभजी प्रविधि अन्तराष्ट्रिय समाचारमा छायो।

‘यद्यपि अर्को पाटोमा अमेरिकी सरकारले प्रतिबन्धहरू लगाएपछि गुगलले एन्ड्रोइड लाइसेन्स रद्द गरिदिँदा अप्ठेरो र जटिलताहरूको सामना गर्नुपर्यो,’ हुवावेले निकालेको विज्ञप्तिमा उल्लेख छ।

हालैको घटनाक्रमबाट विचलित नभइकन दुई वटा नयाँ उत्पादनहरू– वाई फाइभ २०१९ र वाई सेभेन प्रो २०१९ फिंगरप्रिन्ट भर्जन सार्वजनिक गरिएको हुवावेले जनाएको छ।

ग्राहकहरुले प्रयोग गरिरहेका फोनको पूर्ण ख्याल गरिएको र खरिदकर्ताहरुले पनि चिन्ता लिनु नपर्ने कम्पनीको भनाई छ।

अमेरिकी सरकारसँग हुवावेको सम्बन्धको इतिहासलाई केलाउँदा पहिलेदेखि नै असहज थियो। अमेरिकी सरकारले हुवावेलाई देशको राष्ट्रिय सुरक्षामा जोखिम बोकेको भन्दै ‘इन्टटी लिस्ट’मा सूचीकृत गरेपछि सम्बन्ध सबैभन्दा खराब विन्दूमा पुग्यो ।

त्यसपछि गुगलले मे २० तारिखमा ह्वावेको एन्ड्रोइड लाइसेन्स रद्द गरिदियो र भावी दिनमा सार्वजनिक हुने सबै उत्पादनहरूप्रतिको साथ पनि तोडिदियो । यद्यपि एन्ड्रोइडले एक विज्ञप्ति जारी गर्दै गुगल प्ले र गुगल प्ले प्रोटेक्टको सेक्युरिटीले भने विद्यमान हुवावे उत्पादनहरूमा काम गर्ने उल्लेख गर्यो ।

हुवावेले अमेरिकी कदमको निन्दा पनि गरेको छ र उसका उत्पादनहरूमाथि लगाइएको सरकारी प्रतिबन्धलाई गैरकानुनी भन्दै त्यसविरुद्ध कानुनी मुद्दा दायर गरेको छ। ह्वावेका प्रमुख कार्यकारी अधिकृत रेन जाङभेइले २१ मे तारिखमा एउटा पत्रकार सम्मेलनका क्रममा हुवावेमाथि लगाइएको ९० दिने अस्थायी लाइसेन्स प्रतिबन्धको “खासै औचित्य नभएको” र हुवावे पूर्ण तयारी अवस्थामा भएको बताइसकेका छन्।

हुवावे कम्पनीले स्मार्टफोनहरू तथा कम्युटरहरूका लागि हङमेङ्ग नामक आफ्नै अपरेटिङ सिस्टम विकास गरेको र आगामी जाडोयामसम्म संचालनमा आउनसक्ने बताएका छन् । नेपालको सन्दर्भमा हुवावे सन् २०१४ मा बजारमा प्रवेश गरेको हो।

प्रकाशित मितिः     २८ जेष्ठ २०७६, मंगलवार १९:२०  |