अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानद्धारा बृहत् रक्तदान कार्यक्रम


नेपालगन्ज : अच्युतराज सुवेदी स्मृति प्रतिष्ठान नेपाल बाँकेले आज बृहत् रक्तदान कार्यक्रम गरिरहेको छ । भेरी अस्पताल हाताभित्र रहेको रेडक्रसको ब्लड बैंकमा विहान ८ बजेदेखि बृहत् रक्तदान कार्यक्रम भइरहेको प्रतिष्ठानकी सदस्य मालती शर्माले बताउनुभयो ।

नेपालगञ्ज क्षेत्रमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै शर्माले रक्तदान कार्यक्रम साँझ ५ बजेसम्म चल्ने भएकाले इच्छुकहरुलाई रगतदान गर्न आग्रह गर्नुभएको छ । प्रतिष्ठानले आजै अपरान्ह ४ बजे नेत्रहिन संघ बाँकेलाई ३ वटा ह्वील चेयर र २० वटा सेतो छडी उपलब्ध गराउन लागेको उहाँले जानकारी दिनुभयो । गत बैशाख १२ गते प्रतिष्ठानले नेपालगञ्जस्थित निलसागर विद्धाश्रमलाई २५ हजार ५ रुपैयाँ प्रदान गरेको थियो ।

२०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पमा परी गम्भीर घाइते हुनुभएका नेपालगञ्जका युवा व्यवसायी अच्युतराज सुवेदीको २०७२ जेठ २९ गते उपचारका क्रममा निधन भएको थियो । सुवेदीकै स्मृतिमा प्रतिष्ठान गठन गरी विगत ४ बर्षदेखि अच्युतराज सुवेदी स्मृति प्रतिष्ठान सामाजिक सेवामा क्रियाशील रहेको छ ।

प्रकाशित मितिः     २९ जेष्ठ २०७६, बुधबार १६:५१  |