रिकन्डिसन बजारः ३० हजारबाटै पाइन्छ बाइक, यी हुन् धेरै खोजिने ब्रान्ड


मोटरसाइकल आवश्यक भएका तर नयाँ किन्ने सोच नबनाएका उपभोक्तालाई रिकन्डिसनले राम्रो अवसर दिएको छ । काठमाडौंका रिकन्डिसन हाउसले न्युनतम ३० हजार रुपैयाँदेखि ४/५ लाख रुपैयाँसम्मका सेकेन्ड ह्यान्ड मोटरसाइकल बिक्री गर्दै आएका छन् । मोटरसाइकलको अवस्था, माइलेज, पार्ट, नयाँ वा पुरानो कस्तो मोटरसाइकल हो सोही आधारमा मोटरसाइकलको मूल्य निर्धारण हुने गरेको छ । ग्राहकबाट लिँदा र बेच्दा करिब ५ देखि २०/२५ हजार रुपैयाँसम्म मार्जिन राख्ने गरेको ढकाल इन्टरप्राइजेजका संचालक प्रमेश ढकालले बताए । उनले करिब ४ वर्षदेखि रिकन्डिसन बाइक बिक्री गर्दै आएका छन् ।

मार्जिनलाई अध्ययन गर्दा बजार चुनौतीपूर्ण बन्दै गरेको गुनासो रिकन्डिसन व्यवसायीहरुको छ । कतिपय अवस्थामा मोटरसाइकल वा स्कुटरमा मार्जिन राख्न निक्कै गाह्रो पर्ने ढकालको भनाई छ । बैेंक तथा बित्तीय संस्थाले लोन उपलब्ध नराउँदा समस्यामा पर्ने गरेको बताउँदै ढकालले भने ‘ब्रोकर तथा अनलाइन प्रणालीको कारण पनि बिक्रीमा कमी आएको छ ।’

धेरै खोजीनेमा बजाज, हिरो र होन्डाका मोटरसाइकल

प्राय सेकेन्ड ह्यान्ड मोटरसाइकलको बजारमा बजाज, हिरो र होन्डाको मोटरसाइकल बढी रुचाइने गरेको पाइएको छ । बजाज पल्सर रेन्जका सबै मोटरसाइकल, होन्डा डियो स्कुटर, होन्डा सिबी साइन, हिरो स्प्लेन्डर जस्ता मोडल ग्राहकको रोजाइमा पर्ने गरेका छन् । यसका अलवा रोयल इनफिल्ड ३५० र टीभीएसका मोटरसाइकल पनि खोज्ने गरेको संचालकहरु बताउँछन् ।

करिब १४ वर्षदेखिे सोल्टीमोडमा सेकेन्ड ह्यान्ड मोटरसाइकलको खरिद बिक्री गर्दै आएका रोशन रिकन्डिसन सेन्टरका संचालक रोशन श्रेष्ठ रिकन्डिसन बाइकको बजार बिस्तार भएसँगै ग्राहकको संख्या पनि बढ्दैगएको बताउँछन् ।

मोटरसाइकल खरिद तथा बिक्रीको नीति भने रिकन्डिसन हाउस अनुसार फरक फरक रहेको छ । मार्जिन, फाइनान्सिङ, वारेन्टी ग्यारेन्टी, मूल्यांकनको प्रक्रिया प्राय रिकन्डिसन हाउसबीच फरक हुने श्रेष्ठले बताए । कतिपय रिकन्डिसन हाउसले ग्राहकमार्फत मोटरसाइकल खरिद पश्चात त्यसको अवस्था चेकजाँच तथा मेन्टेन गरि आकर्षक मूल्यमा बिक्री गर्ने गरेका छन् भने कतिपयले, ग्राहक र खरिदकर्ताबीचको मध्यस्तकर्ताको भुमिका निभाउने गरेका छन् ।

फाइनान्स सुविधा

प्रायसबै रिकन्डिसन हाउसले ग्राहक स्वयंले छनौट गरेको फाइनान्समार्फत मोटरसाइकलको फाइनान्स गराउने गरेको पाइएको छ । कतिपय नगदमा मोटरसाइकल किन्ने गरेको पाइन्छ । फाइनान्स कम्पनीहरुले सेकेन्ड ह्यान्ड मोरसाइकलमा १८/१९ प्रतिशत व्याजदरमा ऋण सुविधा प्रदान गर्ने गरेका छन् ।

यस्तै, रिकन्डिसन हाउसले मोटरसाइकल खरिद गर्दा मोटरसाइकल बिक्रेताले सबै किसिमको कर तिरे नतिरेको बुझ्ने गर्दछन् । इन्स्योरेन्स बापतको रकम मोटरसाइकल खरिदकर्ता स्वयंमले तथा कतिपय अवस्थामा स्वयंम रिकन्डिसन हाउसले तिर्ने गरेका छन् ।

मोटरसाइकल खरिदकर्ताले अनिवार्य रुपमा लाइसेन्स, ब्लूबुक, नागरिकता लगायतका कागजात पेश गर्नुपर्ने नीति प्राय सबै रिकन्डिसन हाउसको रहेको छ । रिकन्डिसन हाउसले भविष्यमा आइपर्ने चुनौतीलाई न्युनिकरण गर्न उत्कष्ट मूल्यांकन, वारेन्टी तथा ग्राहकसँगको कागजी सम्झौँतामा मात्रै मोटरसाइकल खरिदबिक्री गर्ने गरेको जानकारी दिएका छन् ।

प्रकाशित मितिः     ३० जेष्ठ २०७६, बिहीबार १४:१६  |