वित्तीय साक्षरता नै विकासको आधार


 वित्तीय साक्षरता अर्थात फाइनान्सियल लिटरेसीलाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । नेपालको सन्दर्भमा वित्तीय साक्षरताको आवश्यकतालाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । सरकारी तबरबाट पनि विगतदेखि नै वित्तीय साक्षरतासम्बन्धी कतिपय कार्यक्रमहरु संचालित छन् । नेपालको चालू तेर्हौं त्रिवर्षीय योजनाको आधारपत्रमा वित्तीय साक्षरता, बचत तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रमले प्राथमिकता पाएको थियो । यस्ता कार्यक्रमहरु हरेक वर्षको बजेट र मौद्रिक नीतिमा समेत समावेश हुँदै आएका छन् र केही हदसम्म कार्यान्वयन पनि भइरहेका छन् । यसबाहेक, किशोरकिशोरीको समग्र विकासका लागि वित्तीय साक्षरता अभिवृद्धिलाई प्राथमिकता दिनु, स्कूल कलेजका पाठ्यक्रम एवं पाठ्यपुस्तकमा वित्तीय साक्षरता सम्बन्धी विषयले प्राथमिकता पाउनु, देशको केन्द्रीय बैंक, वित्तीय क्षेत्र, राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था र आमसञ्चारबाट यस विषयलाई विशेष महत्व दिँदै यसलाई एउटा अभियानकै रूपमा सञ्चालन, विस्तार र प्रवद्र्धन गर्नुले पनि के देखाउँछ भने वित्तीय साक्षरता मुलुकको सर्वाङगीण विकाससँग जोडिएको छ । अब यो अपरीहार्य महशुस भईसकेको छ ।

विश्वमा वित्तीय साक्षरताको अवस्था
अन्तर्राष्ट्रिय रुपमै हेर्दा पनि, वित्तीय साक्षरताको अवस्था राम्रो भएका मुलुकहरु बढी समृद्ध र सन्तुष्ट पाइएका छन् । विश्वव्यापी रुपमा हेर्दा, वित्तीय साक्षरताको अवस्था १३ देखि ७१ प्रतिशतसम्म रहेको छ । वित्तीय साक्षरतामा उत्तर युरोप अगाडी रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार, स्वीडेन, डेनमार्क र नर्वेमा वित्तीय ७१ प्रतिशत युवा वित्तीय रुपमा साक्षर छन् । त्यस्तै, क्यानडा र इजरायलमा ६८ प्रतिशत, संयुक्त अधिराज्यमा ६७ प्रतिशत, जर्मनी र नेदरल्यान्ड्समा ६६ प्रतिशत, अष्ट्रेलियामा ६४ प्रतिशत र फिनल्याण्डमा ६३ प्रतिशत युवाहरु वित्तीय रुपमा साक्षर रहेको तथ्यांक छ ।

विश्वकै शक्तिशाली मुलुक अमेरिकामा पनि वित्तीय साक्षरता ६० प्रतिशतभन्दा माथि रहेको छ । उत्तर अमेरिकाका सबै मुलुकको वित्तीय साक्षरता ५० प्रतिशत माथि छ । तर, दक्षिण अमेरिकामा वित्तीय साक्षरताको अवस्था अलि कमजोर रहेको छ । दक्षिण अमेरिकामा वित्तीय साक्षरता बढी भएका मुलुक उरुग्वे र चिलिमा क्रमशः ४५ प्रतिशत र ४१ प्रतिशत रहेको छ । प्रायः दक्षिण अमेरिकी मुलुकमा वित्तीय साक्षरता २१ देखि ३० प्रतिशत रहेको छ ।

अफ्रिका र एशिया महादेशमा वित्तीय साक्षरताको अवस्था सबैभन्दा कमजोर रहेको छ । अफ्रिकाका सबैजसो मुलुकहरुमा ३१ देखि ४० प्रतिशतसम्म युवा वित्तीय रुपमा साक्षर छन् । बोत्स्वाना एउटा मात्रै अफ्रिकी मुलुक हो, जहाँ वित्तीय साक्षरता ५० प्रतिशतभन्दा बढी रहेको छ । वित्तीय साक्षरता सबैभन्दा कमजोर रहेको अफ्रिकी मुलुक सोमालिया हो जहाँ १५ प्रतिशत मात्रै युवामा वित्तीय साक्षरता रहेको छ ।

एशियामा वित्तीय साक्षरतामा कमजोर राष्ट्रहरु यमन र अफगानिस्तानमा क्रमशः १३ प्रतिशत र १४ प्रतिशत युवामा वित्तीय साक्षरता रहेको छ । त्यस्तै, किर्गिस्तान र बंगलादेशमा १९ प्रतिशत र कम्बोडियामा १८ प्रतिशत युवा वित्तीय रुपमा साक्षर रहेको पाइएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चिनमा पनि जम्मा २८ प्रतिशत वित्तीय साक्षरता रहेको छ । पछिल्लो समयमा २० प्रतिशत युवा वित्तीय रुपमा साक्षर रहेको भनिएको नेपालमा अहिले बढिरहेको मानिन्छ । यद्यपि, आधिकारिक अध्ययन भएको छैन । एशियामा वित्तीय साक्षरतामा अब्बल मुलुकहरु म्यानमार र भुटान हुन्, जहाँ वित्तीय साक्षरता ५० प्रतिशत नाघेको छ ।

विकासका लागि वित्तीय साक्षरता
विश्वव्यापी तथ्यांकलाई मनन गर्दा वित्तीय साक्षरता बढी भएका मुलुकहरुमा विकासको गति तिव्र रहेको देखिन्छ । वित्तीय चेतना कम भएका मुलुकहरुमा द्धन्द्धहरु सिर्जना हुने गरेको पाइन्छ । इराक, इरान, सिरिया जस्ता द्धन्द्ध भइरहेने मुलुकहरुमा वित्तीय साक्षरताको अवस्था कमजोर रहेको पाइन्छ ।

प्रकाशित मितिः     ३ असार २०७६, मंगलवार १३:०९  |