लखनउ, भारत – भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सुख र समृद्धिमा भारतको सधैँ साथ रहने बताउनु भएको छ । नेपाल फाउण्डेसनको संयोजनमा मुख्यमन्त्री निवासमा बुधबार साँझ भएको नेपाली पत्रकारहरुसँगको भेटमा उहाँले नेपालको समृद्धि भए भारतसमेत सन्तुष्ट हुने बताउनुभयो ।
मुख्यमन्त्री योगीले नेपालीका लागि भारत आवत–जावत गर्ने वातावरण तथा भन्सारको झन्झटलाई अझै सहज बनाउनेतर्फ आफूले भारतको केन्द्र सरकारसँग आग्रह गरेको समेत बताउनुभयो । उहाँले भारतीय पर्यटकलाई नेपाल लैजानेतर्फ आफू लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले केही व्यक्तिहरुले नेपाल–भारत खुला सिमानाको फाइदा उठाउन भने खोजेको बताउँदै त्यसतर्फ भने दुवै पक्ष सजग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘लागू औषध र अवैध मुद्रा ओसारपसार तथा आपराधिक क्रियाकलाप गर्नेहरु सीमा क्षेत्रमा सक्रिय छन्, त्यतातर्फ दुवै मुलुकले निगरानी गर्नु पर्छ ।’
नेपालीको स्वाभिमान विश्वमा नै उच्च रहेको, नेपाल एक स्वाधिन र सम्प्रभुत्ता सम्पन्न मुलुक भएको भन्दै उहाँले प्रशंसासमेत गर्नुभयो । यस्तै नेपालीको धर्म संस्कृतिसमेत वैश्विक पहिचान भएको उहाँले बताउनुभयो ।
उहाँले नेपालको पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्न भारतको दक्षिणतर्फका नागरिकसमेत हप्ता दिन लगाएर भए पनि नेपाल जाने गरेको आफूलाई जानकारीमा आएको बताउँदै धार्मिक पर्यटनमा विश्वलाई नेपालले तान्न सक्नु पर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री योगीले छिट्टै भारतको गोरखपुरबाट नेपालका लागि बस सेवा सञ्चालनको तयारी भएकोसमेत जानकारी दिनुभयो । भेटमा नेपाली पत्रकारले नेपाल–भारत सम्बन्धबारे जिज्ञासा राखेका थिए । फाउण्डेसनका संयोजक विकास ठाकुरले नेपाल भारतको धार्मिक र सांस्कृतिक पर्यटनमा साझेदारीको आवश्यकता रहेको औँल्याउनुभयो । उज्यालो अनलाइनडटकमबाट साभार