नेपालगन्ज ५ असार : निर्माण थालेको झण्डै एक दशकपछि नेपालगन्जमा पौडी पोखरी तयार भएको छ । १८ करोड लागतमा काठमाडौंबाहिर तयार भएको सबैभन्दा ठूलो पौडी पोखरीको उद्घाटन भोली शुक्रबार परिषद्का सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्ने छन् ।खेलकुद परिषद् प्रदेश ५ का अध्यक्ष भीम ओलीले लामो समयदेखिको पर्खाईमा रहेको पौडी पोखरी तयार भएको बताए ।
२०६६ सालमा तत्कालीन खेलकुद मन्त्री गणेश नेपालीले सिलान्यास गरेको पोखरी यही वर्ष पुरा भएको हो । केही बर्ष निर्माण कार्य सुस्त गतिमा बढेपनि लामो समयसम्म काम ठप्प रह्यो । पछिल्लो दुई बर्षमात्र १५ करोड बजेट पोखरीका लागि आएको अध्यक्ष ओलीले बताए ।
भोली शुक्रबार पौडीपोखरीको उद्घाटन भएपनि सर्बसाधारणको लागि भने सम्भवत साउनपछि खुल्ला गरिनेछ । पौडीपोखरी लगायतका पूर्वाधारको काम भइरहेको र खेलकुद कार्यविधि नबनेका कारण सर्बसाधारणका लागि पौडी खेल्ने अनुमति दिन केही समय लाग्ने ओलीले बताए । उक्त पौडीपोखरी सन्चालन भए सर्बसाधरणले निजी पौडीपोखरी भन्दा झण्डै आधा सस्तो पाउने छन् ।