बाँके ६ असार : तत्कालिन यूवा तथा खेलकुद मन्त्री गणेश बहादुर नेपालीले विक्रम् सम्वत् २०६६ मा शिलान्यास गरेको पौडी पोखरीको शुक्रवार परीक्षण गरिएको छ । जिल्लास्तरिय पौडी प्रतियोगिता आयोजना गरि पौडी पोखरी परीक्षण गरिएको हो । दश बर्षअघि शिलान्यास भएपछि पौडी पोखरीले नौ जना मन्त्री र पाँचजना राष्ट्रिय खेलकुद परिषदका सदय सचिव पाएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टको प्रमुख आतिथ्यतामा पौडी पोखरीका परीक्षण गरिएको हो ।
पौडी पोखरी परीक्षण कार्यक्रममा बोल्दै सदस्य सचिव विष्टले खेलाडी र खेलप्रेमीले १० बर्षदेखि प्रतिक्षा गरेको पौडी पोखरीले मुर्त रुप पाएको बताए । प्रदेश ५ खेलकुद विकास समितिले राखेप सदस्य सचिव विष्टसँग शुक्रवार उद्घाटन गराउने योजना बनाए पनि विष्टको आग्रहमा उद्घाटन कार्यक्रम स्थगित गरिएको थियो । निर्माणको सम्पूर्ण काम सक्न अझैँ केहि समय लाग्न भएकोले उद्घाटन कार्यक्रम स्थगित गरि परीक्षणलाई जोड दिएको विष्टले बताए ।
‘उद्घाटन ठूलो कुरा होइन, संरचना निर्माण हुनु उपलब्धि हो,’ उनले भने । रु. १८ करोड लागतमा पौडी पोखरी एक दशकमा तयार भएको छ । प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीका अनुसार, २०६६ सालमा डिपीआर तयार गर्न रु. ८ लाख, ०६७–०६८ मा डेढ–डेढ करोड, ०६९ मा रु. एक करोड बजेट खर्च भएको थियो । ०७० मा रु. २ करोड ५० लाख आए पनि फ्रिज भएर गएको अध्यक्ष ओलीले जानकारी दिए । त्यसपछि ०७१, ०७२ र ०७३ सालमा रकम विनियोजन नभएपछि पौडी पोखरी निर्माणको काम अलपत्र परेको थियो ।
१५ पुस, २०७३ मा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्जमा आयोजना हुने निर्णय भएपछि फेरि पैँसा आउन थालेको थियो । ०७५–७६ मा रु. १८ करोड परेकोमा साढे १४ करोडको टेण्डर परेर काम सकिएको छ । काठमाडौँ पछिको दोस्रो सुविधा सम्पन्न पौडी पोखरी काठमाडौँ पछि नेपालगन्जमा निर्माण भएको पौडी पोखरी दोस्रो सुविधा सम्पन्न भएको प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष ओलीले बताए ।
उनले काठमाडौं बाहिर नेपालगन्जस्थित पौडी पोखरीमा पौडीका ठूला प्रतियोगिता गराउन सकिने उनको भनाई छ । एक पटकमा साढे तीन सय जनाले पौडी खेल्न सक्ने क्षमता भएको उक्त पौडी पोखरी बनेसँगै प्रचण्ड गर्मी झेलिरहेका नेपालगन्जवासीलाई केहि राहत मिल्ने भएको छ । राखेप सदस्य सचिव विष्टले पौडी पोखरीले राम्रा खेलाडी उत्पादनमा सहयोग गर्ने मात्र नभई रोजगारी सिर्जना गर्ने र यो रकम कमाउने श्रोत बनेको बताए । ‘नेपालगन्जमा गर्मी भएकोले दश महिनासम्म पौडी पोखरी संचालनमा ल्याउन सकिन्छ,’ उनले भने, ‘यसले पौडी पोखरी संचालनमा लाग्ने खर्च आफै जुटाउन सक्छ ।’