बाँके ७ असार : नेपालगन्ज उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितिको पदावधि पाँच महिनाका लागि थप भएको छ । पदावधि थपसंगै आगामी माघ महिनाभित्र संघको निर्वाचन हुने निश्चित भएपछि उद्योगी,व्यवसायीहरु माझ चुनाव लक्षित चर्चापरिचर्चा हुन थालेको छ । शनिबार नेपालगन्जका उद्योगी, व्यवसायीको एउटा समूहबीच सामान्य छलफल भएको छ । शनिबारको दिन त्यसै पनि बिदा । बिदाको उपयोग गर्दै सहकर्मी व्यवसायीहरु चियाको चुस्की लिदै उद्योग वाणिज्य संघको चुनाव लक्षित कुराकानीमा व्यस्त रहे ।
व्यवसायीहरुको उक्त बसाईले कुनै ठोस आकार ग्रहण नगरेपनि महत्व भने धेरै राख्छ । किन भने उक्त बसाईमा संघको आगामी निर्वाचनमा अध्यक्ष पदका दाबेदारका रुपमा हेरिएका सन्जय थापा, ललित रौनियार लगायतको सहभागिता थियो । चियागफमा सम्भावित उम्मेदवारका साथै संघका पूर्व महासचिव बिष्णु लामिछाने, यसअघि अध्यक्षमा चुनाव लडेका गोपाल अधिकारी, पूर्व तथा बर्तमान कार्यसतिका सदस्यहरु सहभागि थिए । उक्त बसाईका बारेमा प्रतिक्रिया दिदै अध्यक्ष पदका आंकाक्षी सन्जय थापा भन्छन्,–‘बिदाको दिनमा साथीभाईहरु बीच सामान्य भेटघाट भयो । सबै व्यवसायीहरु भएको स्वभाविकरुपमा चुनावमा बारेमा पनि कुरा उठे ।’ यसअघि पनि यस्ता चियागफ भएका छन् । नेपालगन्जका मेयर धवल शमसेर राणाको उपस्थितीमा उद्योगी, व्यवसायीहरुको अलग्गै समूहले चुनाव लक्षित भेटघाट गरिसकेको छ । व्यवसायी तेजनारायण कँडेल चुनाव लक्षित छलफल हुन थालेको बताउँछन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनले संसदिय चुनावकै झल्को दिने गरेको छ । हप्तौसम्म चुनावी अभियान चल्छ भने ठुलो धनराशी खर्च हुने गरेको छ । कार्यसमितिमा आउन उम्मेदवारलाई सकस हुन्छ । अझ उम्मेदवार पार्टीगत आवरणमा उठ्दा त राजनीतिक दलले समेत यसलाई प्रतिष्ठाको बिषय बनाउने गरेका छन् । आउने चुनावका लागि बर्तमान कार्यसमितिबाट बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी अध्यक्ष पदमा चर्चामा छन् । चुनाव लक्षित गतिबिधिले आकार दिन थालेपछि को कुन पदमा उठ्ने र कुन समिकरणमा जाने भन्ने स्पष्ट हुन्छ ।