सुर्खेत – घरेलु उद्योगलाई नयाँ प्रविधिमैत्री बनाउन जोड दिईएको छ । समयसापेक्ष नयाँ प्रविधि र सीपको विकास नहुँदा घरेलु उद्योग फस्टाउन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर बिसीले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने, ‘नयाँ प्रविधिमा जान नसकेका कारण झण्डै १४ हजार घरेलु उद्योगले उत्पादन बढाउन सकेनन् । अब नयाँ प्रविधि र सीपको विकास गर्न जरुरी छ ।’
अध्यक्ष बिसीका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म करिब १३ हजार ७ सय ३० वटा लघु घरेलु तथा साना उद्यमीले नवीकरण गरेको भए पनि प्रविधि अभावले गर्दा सोचेजस्तो उत्पादन गर्न नसकिरहेको बताए। उनले भने, ‘देशको कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदानमध्ये ९० प्रतिशत हिस्सा लघु घरेलु तथा साना उद्योगहरूको छ, विभिन्न समस्याहरूका बाबजुद पनि निर्यात तथा रोजगारी सिर्जना गर्ने लघु घरेलु तथा साना उद्योग नै भए पनि राज्यले अहिले यी उद्योगहरूलाई प्राथमिकता राख्न सकेको छैन।’
उद्योग विभागको तथ्यांक प्रस्तुत गर्दै उनले देशभर रहेका ४ लाख १८ हजार ५२ लघु घरेलु तथा साना उद्योगमा ४१ करोड १९ लाख ६ हजार लगानी रहेको, साथै ती उद्योगहरूमा २६ लाख ६ हजार ८६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेको बताए। उनले भने, ‘आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्य पूरा गर्न लघु घरेलु तथा साना उद्योगहरूको स्तरोन्नति आवश्यक छ, युवाहरूलाई स्वदेशमै आकर्षक रोजगारीका अवसरहरू उपलब्ध गराउन लघु घरेलु तथा साना उद्योगको स्तरोन्नति गरी उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धन गर्न आवश्यक छ।’ उनका अनुसार तीनै तहका सकारले जनताको आर्थिक समृद्धिको तीव्र चाहनालाई सम्बोधन गर्न घरेलु तथा साना उद्योगको विकासमा उल्लेखनीय कदम चाल्नुपर्छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले कर्णालीमा लघु घरेलु तथा साना उद्योगहरूको पर्याप्त सम्भावना हुँदाहुँदै पनि सरकारी नीति उद्योगमैत्री नभएकाले समस्या भइरहेको जनाए। उनले सरकारी स्तरबाटै लघु घरेलु तथा साना उद्योगहरूको स्तरोन्नतिका लागि विशेष रणनीति बनाएर अगाडि बढ्न सुझाव दिए। कार्यक्रममा कर्णाली प्रदेशका दशवटै जिल्लाका नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष, महासचिव तथा उद्यमीहरूको सहभागिता रहेको थियो।