बैंकिङ खबर । प्रभु बैंकले विभिन्न पाँच देशमा आफ्नो प्रतिनिधि अर्थात सम्पर्क कार्यालय खोल्ने भएको छ । बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहरमा आफ्नो सम्पर्क कार्यालय खोल्न लागेको हो । यसका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरेको छ ।
प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गर्नेछ । त्यसपछि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरी सम्बन्धित सबै सम्पर्क/प्रतिनिधि कार्यालयहरुबाट बैंकले आफ्नो सेवा सुरु गर्नेछ ।

हालसम्म देशभरका १८६ शाखा कार्यालय, १३९ वटा एटिएम तथा २३ वटा एक्सटेन्सन काउण्टर कार्यालयहरु सहितको सञ्जालका माध्यमबाट १२ लाख भन्दा बढि ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको प्रभु बैंकले अब विदेशमा पनि आफ्नो सेवा विस्तार गनै लागेको छ । विदेशस्थित सम्पर्क कार्यालयहरुबाट अन्तर्राष्ट्रिय व्यापारमा टेवा पुग्ने तथा सम्बन्धित देशमा रहेका ग्राहकहरुलाई सहज एवं सरल रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले विश्वास लिएको छ ।