-अनन्तराज न्यौपाने/बिजमाण्डू
विराटनगर । रेलमा विद्युतीय कार्गो प्रणाली सुरु भएपछि कोलकाताका ढुवानीकर्ताले सडक ढुवानीको दररेट घटाएका छन्। यसका कारण विराटनगर नाकाबाट पैठारी गर्ने व्यवसायीलाई रेलमार्गभन्दा सडक मार्ग सस्तो परिरहेको छ।
मोरङ व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैनले रेलसित प्रतिस्पर्धाका कारण सडक ढुवानीको दररेट घटेको जानकारी दिए। व्यवसायी जैनका अनुसार कोलकाताबाट विराटनगर नाकासम्म मालवस्तु लोड गरिएको कन्टेनर ढुवानी गर्दाको भाडा प्रति मेट्रिक टन भारु ३५ सय बाट २१ सय भएको छ। ‘रेलमार्गबाट मालवस्तु ल्याउँदा प्रति टन भारु ४१ सय पर्छ’, उनले भने, ‘यसको भार व्यवसायीलाई मात्र नभएर अन्ततः उपभोक्तालाई नै पर्ने हो।’ उनले ट्रेलरमा कोलकाताबाट कन्टेनर ल्याउन ४ दिन र खालि कन्टेनर फिर्ता गर्न २ दिन लाग्ने उल्लेख गर्दै बढीमा ७ दिनमा खालि कन्टेनर कोलकाताको जहाज कम्पनीमा जम्मा भइरहेको दाबी गरे।
जहाज कम्पनीले कन्टेनर बुझाउने समय २१ देखि २८ दिनसम्म दिने गरेको छ ।‘तर रेलमार्गबाट कन्टेनर ल्याउनै सर्वप्रथम कठिन भइरहेको छ, किनकि कम्तीमा पनि ६०–७० वटा कन्टेनर नभई रेलको र्याकलाई भार पुग्दैन’, उनले सुनाए, ‘रेलमार्गका लागि ६०–७० वटा कन्टेनर पुर्याउन नै २ हप्ता कुर्नु पर्छ। मालवाहक रेल जोगबनीबाट ९ किलोमिटर दक्षिणको बथनाहासम्म मात्र आउँछ। बथनाहामा अनलोड गरिएको कन्टेनर पार्टीको गोदामसम्म आइपुग्न थप २ हप्ता लागेको लागेको घटना यसअघि हामीले भोगेकै हो। यही कारण विराटनगर नाकाबाट विद्युतीय कार्गो सफल हुन सकेको छैन।’
जैनले रेलबाट विद्युतीय कार्गो ल्याउँदा सामानको दर, पार्टीको ठेगाना लगायतका विस्तृत विवरण भएको कमर्सियल इन्भ्वाइस दिएर आयातकर्ताको गोपनीयता एउटा निजी कम्पनीलाइ सुम्पनु पर्ने उल्लेख गरे। यसबाट त्यस कम्पनीले नाजायज फाइदा लिन सक्ने उनको भनाइ छ।पूर्व अध्यक्ष जैनले विद्युतीय कार्गोबाट मात्र कन्टेनर ओसार्नुपर्ने भन्ने नियम बनाइनु नहुने आग्रह गर्दै यसो भएमा रेल कम्पनीको एकाधिकार हुने जिकिर गरे। उनले पैठारीकर्ता सडक वा रेल जुन मार्ग चाहन्छन्, त्यही बाटो भएर कन्टेनर ओसार्न दिनुपर्ने धारणा प्रकट गरे।
‘जोगबनी कोलकाताको रेलले धेरै सुविधा गरिदिएको छ’, उनले भने, ‘हिजोआज बैङ्कमा डकुमेन्ट पाएपछि कोलकाता जाने एजेन्टलाई त्यही दिन डकुमेन्ट दिएर भोलिपल्ट १० बजे भित्र नै कोलकाताको क्लियरिङ एजेन्टको कार्यालयमा डकुमेन्ट पुर्याएर सोही दिन ४ बजेसम्म डकुमेन्ट पास गराएर ट्रेलरमा कन्टेनर लोड गराउन सकिन्छ। तर विद्युतीय कार्गोमार्फत् रेल मार्गबाट सामान ल्याउँदा यो सुविधा प्रयोग गर्न सकिन्न ।