१७ असार, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको संस्था नेपाल बैंकर एशोसिएसनले मर्जरका लागि नेपाल राष्ट्र बैंकले सहुलियत दिनुपर्ने निष्कर्ष निकालेको छ ।
मंगलबार बसेको एशोसिएसनको पूर्ण बैठकले मर्जरका लागि आवश्यक सहुलियत राष्ट्र बैंकसँग माग्ने निर्णय गरेको हो । राष्ट्र बैंकको मर्जर नीतिलाई सबैले सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैंकको संख्या घटाउने गरी राष्ट्र बैंकले लिएको नीति राम्रो नभए पनि सहयोग गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक बैंकरले बताए ।
‘वास्तवमा बैंकको संख्या बढी भएकै हो, यसलाई कसैले नकार्न सक्दैन,’ उनले भने, ‘तर मर्जर गर्छु भनेर जबर्जस्ती गर्न पाइँदैन । राष्ट्र बैंकले हामीलाई केही सहुलियत देओस्, हामी मर्जरमा जान तयार छौं ।’
त्यस्तो सहुलियत आगामी मौद्रिक नीतिले दिनुपर्ने सीईओहरुको धारणा छ । उनीहरुले मौद्रिक नीति अगाडि मर्जरको सम्भावना नकारेका छन् । मर्जरका विषयमा आफूहरुले छलफल शुरु गरिसकेको भएपनि २७ गतेअघि मर्जको सम्भावना नभएको उनले बताए । एक बैंकरले भने, ‘छलफल त शुरु भइसक्यो, तर मर्जर भनेको आजको भोलि हुने होइन, मौद्रिक नीति अगाडि सम्भावना छैन ।’
आफूहरुले गरेको छलफलबारे राष्ट्र बैंकलाई २६ गतेभित्र जानकारी भने गराइने सीईओहरुले बताएका छन् । ‘हामी यो-यो बैंक आपसमा मर्जरमा जानसक्ने सम्भावना छ भनेर जानकारी गराउँछौं, तर त्यो अन्तिम निर्णय भने हुन सक्दैन,’ उनले भनेका छन् ।
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गत बिहीबार बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मौद्रिक नीति अगावै मर्जरमा जान साथी खोज्न आग्रह गरेका थिए । असार २७ गते मौद्रिक नीति आउने भन्दै उनले त्योभन्दा आगवै मर्जरको प्रतिवद्धता पेश गर्न गभर्नरले निर्देशन दिएका थिए । अनलाइनखबरबाट साभार