उद्योग वाणिज्य संघका अध्यक्षसहित ३ पदाधिकारी पक्राउ परेपछि अत्तरिया बजार बन्द


कैलाली । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटा सहित कार्यसमिती सदस्य पक्राउ परेको विरोधमा अत्तरिया बजार बन्द गरिएको छ । बुधबार बिहान उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका अध्यक्ष देवकोटा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेलगत्तै अत्तरिया बजार बन्द गरिएको हो ।

अत्तरियाका सम्पुर्ण व्यापारी, व्यवसासायीहरुका साझा समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा बोल्दा मुद्धा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै अत्तरियाका व्यापारीहरुले स्वच्छिक रुपमा आ–आफ्ना पसलहरु बन्द गरिएको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिनुभयो ।

देवकोटासहित अत्तरिया उद्योग वाणिज्य संघका अन्य पदाधिकारी विरुद्ध गोदावरी नगरपालिकाले मुद्दा दर्ता गरेको थियो । गत असार १० गते नगरसभा चलिरहेका बेला आफूहरुलाई शुभकामना मन्तव्य राख्न नदिएको भन्दै केही व्यापारीले विरोध जनाएका थिए ।

नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्ट सहभागी नगरसभामा अवरोध सिर्जना गरेको भन्दै नगरपालिकाले उद्योग वाणिज्य संघका पदाधिकारीसहित केही व्यापारी विरुद्ध मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मितिः     १८ असार २०७६, बुधबार १४:१६  |