सरकारी निर्णय १३ दिन पनि टिकेन, भारतबाट विना परीक्षण तरकारी र फलफूल आयात गर्न सकिने


काठमाडौं। सरकारले विषादी परीक्षण विनानै भारत तथा अन्य मुलुकबाट नेपालमा तरकारी र फलफूल आयात गर्न बाटो खोलिदिएको छ।
विषादी परीक्षण विना फलफूल र तरकारी आयात गर्न नदिने यसअघिको निर्णय १३ दिनमै उल्ट्याउँदै मन्त्रिपरिषदको बैठकले विना परीक्षण त्यस्ता वस्तुको पैठारीको बाटो खोलिदिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तयारी विना नै निर्णय गर्दा कार्यान्वयनमा समस्या भएकाले तत्काललाई साविकअनुसार नै फलफूल तथा तरकारी आयातको बाटो खोलिएको जानकारी दिए। ‘हामीसँग तरकारी जाँच गर्ने एउटा मात्रै मेसिन भएको र त्यो पनि काठमाडौंमा मात्रै भएकाले भन्सारमा विषादी परीक्षण गर्न सकिएन,’ उनले भने, ‘अब यथाशिघ्र सबै भन्सारमा विषादी जाँच गर्ने उपकरण जडान गरी आयातमा कडाई गर्ने तर तत्काललाई भने पहिले जस्तै आयात हुन दिने निर्णय भएको छ।’

विहीबारको मन्त्रिपरिषद बैठकमा मन्त्री यादवले आफ्नै निर्णय उल्ट्याउने प्रस्ताव प्रस्तुत गरेका थिए। मन्त्री यादवले आफूले यसअघि गरेको निर्णय कार्यान्वयन गर्न केही समस्या देखिएको पनि स्वीकार गरे। ‘पहिले तयारी नपुगी निर्णय गर्दा कार्यान्वयनमा समस्या भयो, अब सबै भन्सारमा परीक्षणको उपकरण जडान गर्न अर्थ मन्त्रालयले बजेट दिने प्रतिबद्धता पनि जनाइसकेको छ,’ मन्त्री यादवले बिजमाण्डूसँग भने।

सिपमेन्ट भएका वस्तुको आयात पनि खुल्यो
सरकारले आयातका लागि एलसी खोलिएका प्रतिबन्धित वस्तु पनि ल्याउन दिने निर्णय गरेको छ। प्रतिबन्धको निर्णय आउनुअघि नै एलसी खोलिएका इनर्जी ड्रिंक्स र जुस आयात गर्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ। वाणिज्य मन्त्रालयका एक सहसचिवका अनुसार सिपमेन्ट भैसकेका वस्तुको हकमा पूर्ण प्रतिबन्धको निर्णय लागू नहुने निर्णय भएको छ। यो निर्णयसँगै एलसी खोलिएका रेडबुल र प्रान जुस नेपाल भित्रिन पाउनेछन्। सरकारले व्यापार घाटा न्यूनीकरणका लागि भन्दै केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो भने केही वस्तुको आयातमा कडाईको निर्णय गरेको थियो।

प्रकाशित मितिः     २० असार २०७६, शुक्रबार १८:५९  |