मुख्यमन्त्री शंकर पोखरेलद्धारा विकास आयोजनाको ठेक्का जेठभित्रै गर्न निर्देशन


बुटवल -मुख्यमन्त्री शंकर पोखरेलले विकास आयोजनाको ठेक्का अवधि जेठ मसान्तसम्म हुने गरी अघि बढ्न निर्देशन दिनुभएको छ । मन्त्रालयहरुले आयोजना गरेको वार्षिक कार्ययोजना प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उहाँले विकास निर्माणका काम जेठ मसान्तसम्म सक्ने गरी अघि बढ्दा कामको गुणस्तर र प्रभाव बढ्ने बताउनुभयो । ‘असार लागेपछि बर्षायाम शुरु हुने भएकाले कामको गुणस्तर कमजोर हुन्छ, आर्थिक वर्षको अन्त्यमा हतार हतारमा बजेट कार्यान्वयन गर्ने प्रवृति अन्त्यको लागि जेठ मसान्तलाई बजेट कार्यान्वयनको समयसीमा मानौ—उहाँले भन्नुभयो । उहाँले साना आयोजनालाई आबको आठ महिनाभित्र टुंग्याउने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले विकास आयोजनाको निमार्ण गर्दा २० वर्ष पछिको अवस्थालाई ख्याल गर्न र बहुवर्षीय आयोजनालाई पहिले नै टुंगो लगाएर अघि बढ्न मन्त्रालयहरुलाई निर्देशन दिनुभयो । उहाँले प्रदेशका १० गौरवका आयोजनाको छनौटको तयारीमा लाग्न मन्त्रालयहरुलाई निर्देशन दिनुभयो । ‘आर्थिक मामिला बाहेक अरु पाँच मन्त्रालयले कम्तिमा तीन आयोजना छनौट गरी प्रस्ताव अघि बढाउनुस्,त्यसमध्ये राम्रो आयोजना छनौट गरी अघि बढ्न सकिन्छ—उहाँले भन्नुभयो । उहाँले प्रदेशका गौरवका आयोजना आयोजनामा श्रोतको द्विविधा नराख्न मन्त्री र सचिवहरुलाई आश्वस्त बनाउनुभयो । उहाँले चरंग—झुम्सा वाइपास सडकमा यो आव भित्रै गाडी चल्न सक्ने गरी काम गर्न निर्देशन दिनुभयो । ‘काम छिटो र राम्रो गरौं,श्रोतको अभाव भयो भने व्यवस्थापन हुन्छ—उहाँले भन्नुभयो ।

उहाँले लुम्बिनी प्रादेशिक अस्पताललाई पूर्वाधार र व्यवस्थापन राम्रो बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । ‘राम्रो आन्तरिक श्रोत भएको अस्पताल अस्तव्यस्त छ, अस्पतालको अहिलेको अस्तव्यस्त अवस्था अन्त्य हुनुपर्छ—उहाँले भन्नुभयो । तुलसीपुर र बुटवलमा विशेषज्ञ सेवा उपलब्ध गराउने र सामान्य चिकित्सा सेवाको लागि जिल्ला अस्पतालमै उपचार हुने व्यवस्था गर्ने गरी काम हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले विपदको व्यवस्थापन गर्न केन्द्रको भर पर्ने प्रवृतिको अन्त्य गर्न निर्देशन दिनुभयो । ‘विपदको व्यवस्थापन गर्ने क्षमता विकास गर्ने गरी अघि बढौं—उहाँले भन्नुभयो । उहाँले सामाजिक मन्त्रालयले गर्ने कार्यक्रमको प्रतिफल यही वर्ष पाउने हुनुपर्ने बताउनुभयो । ‘ अरु मन्त्रालयले गर्ने काको प्रतिफल पाउन समय लाग्छ, तर राम्रो गरी काम गर्न सक्दा सामाजिक विकास मन्त्रालयको प्रतिफल तत्काल पाउन सकिन्छ । उहाँले वन क्षेत्रमा ठूला जलाशय बनाउने कामलाई अभियानका रुपमा अघि बढाउने गरी अघि बढ्न निर्देशन दिनुभयो । अहिले साना पोखरी बनाएर त्यसको प्रभाव नदेखिने भएकाले ठूला जलाशय बनाउन योजना बनाएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले वनलाई संरक्षणसगैं वन पैदावर उत्पादन केन्द्रका रुपमा विकास गर िअघि बढ्नुपर्ने बताउनुभयो । उहाँले रुपन्देहीमा निलगाई संरक्षणको लागि विशेष सामुदायिक वन र रुकुममा रेडपाण्डा संरक्षण केन्द्र बनाएर अिघ बढ्न निर्देशन दिनुभयो । उहाँले पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी केन्द्रीत भएर गर्न निर्देशन दिनुभयो ।‘लुम्बिनी र यससंग सम्बन्धित स्थलहरुमा पर्यटन प्रवद्र्धनको काममा ध्यान दिऔं, त्यसपछि अरु सम्पदालाई जोडौं—उहाँले भन्नुभयो । उहाँले निग्लिहवा र गोटिहवामा बुद्धमूर्ति प्रतिस्थापन र रामग्रामको बौद्धकालीन संग्रहालय नमूना बन्नुपर्ने बताउनुभयो ।

उहाँले पाल्पा दरबार संग्रहालय प्रदेशको सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । त्यसैगरी सुस्तामा बनाउन लागेको मोडेल भिलेजमा मोडेल होमस्टे बनाउन निर्देशन दिनुभयो । उहाँले कृषिका कार्यक्रमको सफलताको मापनको आधार उत्पादन बढेको, निर्वाहमुखीबाट बजारमुखी प्रणालीतर्फ गएको हुनुपर्ने बताउनुभयो । उहाँले गुल्मी, अर्घाखाँची र पाल्पालाई कफि खेती पकेटको रुपमा विकास गर्ने गरी अघि बढ्न निर्देशन दिनुभयो । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अन्तर समन्वय र सहकार्य बढाउनुपर्ने बताउनुभयो । मन्त्रालयबीचको सहकार्य र समन्वयले बजेट कार्यान्वयन सहज हुने उहाँको भनाई छ । विहिवार र शुक्रवार वार्षिक कार्यक्रम प्रस्तुतीकरण भएको थियो ।

प्रकाशित मितिः     ३ श्रावण २०७६, शुक्रबार २०:२३  |