काठमाडौं। आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा चीनबाट आउने लगानीमा ४ गुणाले कमी आएको छ।चिनियाँ लगानी कम आउँदा विदेशी लगानी ६० प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षमा चिनियाँ लगानीको प्रतिवद्धता १२ अर्ब ३५ करोड रुपैयाँ मात्रै भएको छ। अघिल्लो आर्थिक वर्षमा ४९ अर्ब पाँच करोड रुपैयाँ चिनियाँ लगानीको प्रतिवद्धता आएको थियो। गत आर्थिक वर्षमा भारतीय लगानी दोब्बरले बढेको छ। गत आर्थिक वर्ष भारतबाट ९ अर्ब सात करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ। अघिल्लो वर्ष पाँच अर्ब ४० करोड रुपैयाँ मात्रै विदेशी लगानी प्रतिवद्धता भएको थियो।
गत वर्ष विदेशी खुद विदेशी लगानी २३ अर्ब ९५ करोड रुपैयाँ मात्रै प्रतिवद्धता आएको छ। अघिल्लो आर्थिक वर्षमा भने यस्तो खुद विदेशी लगानी ५५ अर्ब ७६ करोड रुपैयाँ प्रतिवद्धता आएको थियो। यो लगानी अघिल्लो वर्षको तुलनामा ३१ अर्ब ८१ करोड रुपैयाँ अर्थात करिब ६० प्रतिशतले कम हो।
गत वर्ष ३३७ वटा उद्योगमा मात्र विदेशी लगानी प्रतिवद्धता भएको छ। अघिल्लो आर्थिक वर्षमा भने ३९९ वटा उद्योगमा विदेशी लगानी प्रतिवद्धता आएको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष ६२ वटा कम उद्योगमा विदेशी लगानीको प्रतिवद्धता आएको हो।देशगत रुपमा पनि अघिल्लो आर्थिक वर्षमा ४४ देशबाट विदेशी लगानी प्रतिवद्धता आएकोमा गत वर्ष ३२ देशबाट मात्र लगानी प्रतिवद्धता आएको छ।
स्वदेशी लगानी पनि घट्यो
गत आर्थिक वर्षमा दुई खर्ब ८२ अर्ब ६८ करोड रुपैयाँ स्वदेशी लगानी प्रतिवद्धता सहित ४३६ उद्योग दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षमा भने तीन खर्ब ५० अर्ब ७४ करोड रुपैयाँ स्वदेशी लगानी प्रतिवद्धता सहित ४९८ उद्योग दर्ता भएका थिए।
गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ६८ अर्ब रुपैयाँ कम लगानी प्रतिवद्धता आएका छ। उद्योग संख्यामा पनि ६२ उद्योग कम दर्ता भएका छन्।रोजगारी प्रतिवद्धता पनि अघिल्लो आर्थिक वर्षको २७ हजार ३८२ को तुलनामा गत आर्थिक वर्षमा २२ हजार ९६१ मात्रै भएको छ।