नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापतिमा शेर बहादुर देउवालाई पुनः दोहरिन नदिने पक्षमा आफू रहेको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले ३७ औं विपी स्मृति दिवसका अवसरमा आज नेपालगञ्जमा गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले आगामी महाधिबेशनमा पार्टीको अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने बताउनुभयो । यस विषयमा आफूले पहिलोपटक नेपालगञ्जबाट मुख खोलेको बताउँदै उहाँले सभापति देउबा फेरि सभापतिमा चुनाव लड्ने सम्भावना रहेकाले देउबालाई पुनः नेतृत्वमा आउन नदिन सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
१३ औं महाधिबेशनमा देउबा इतर पक्ष एकजुुट नहुँदा सभापति पद गुमाउनु परेको प्रसंग सम्झँदै महामन्त्री डा.कोइरालाले भन्नुभयो, ‘फेरि पनि हामी दुई तीन जना लड्यौं, आपसमा मिलेनौं भने शेर बहादुर जीले जित्नुहुन्छ ।’ सभापति देउबाले पार्टी चलाउन नसकेको भन्दै पार्टीभित्र तीब्र आलोचना भइरहेकाले आगामी महाधिबेशनमा नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा आफू रहेको उहाँले स्पष्ट पार्नुभयो । विपी कोइरालाको पालामा जस्तो अहिलेका नेताहरुका बीचमा हार्दिक नभएको भन्दै उहाँले अहिले नेताहरुको बीचमा तिक्तता मौलाएको बताउनुभयो । पार्टीलाई एक ढिक्का बनाउन सके मात्र कम्युनिष्टहरुसंग लड्न सकिने महामन्त्री कोइरालाले बताउनुभयो ।
उहाँले सरकार हरेक कुरामा चुकेको टिप्पणी गर्नुभयो । सरकारले संघियता पनि नचाहेको जिकिर गर्दै महामन्त्री डा.कोइरालाले शान्ति सुरक्षा र सुशासन कायम गर्न सरकार असफल भएको बताउनुभयो । सरकार सपना मात्रै बाँड्दै हिँडेको उहाँको भनाई छ । केन्द्रिय सदस्य बद्रि पाण्डेले पार्टीको संस्थागत विकास गर्न जरुरी रहेको बताउँदै विधान अनुसार पार्टी चल्नुपर्ने आवश्यता औंल्याउनुभयो । सरकारप्रति जनताको भरोसा टुटेको उहाँको भनाई छ । लोकतन्त्रमाथि चौतर्फी आक्रमण गर्ने सरकारले जन आकांक्षा अनुसार काम गर्न नसक्ने टिप्पणी गर्नुभयो । कार्यक्रममा बोल्दै पार्टी सभापति किरण कोइरालाले पार्टीलाई सुदृढ बनाउँदै जनताका पक्षमा काम गर्न सके मात्र विपी कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
पूर्व पार्टी सभापति सनत रेग्मीले विपीले प्रतिपादन गरेको सिद्धान्त र नीतिबाट कांग्रेस विमुख हुँदा अहिलेको अवस्था आएको टिप्पणी गर्नुभयो । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका उपप्राध्यापक अर्जुन प्रसाद पोखरेलले विपी कोइरालाको जीवनी, विचार र राजनीतिक दर्शन तथा सान्दर्भिकताबारे धारणा राख्नुभएको थियो । पार्टी सहसचिव रामकुमार राँढले सञ्चालन गरेको कार्यक्रममा सचिव कपिलदेब शर्माले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।