पछिल्ला बर्षहरुमा नेपालमा मोटरसाइकल तथा स्कुटरको आयत निकै बढेको छ । पाँच बर्षको आयातलाई औसतमा हिसाव गर्ने हो भने बार्षिक २ लाख थान बढी नयाँ मोटरसाइकल तथा स्कुटर कारोवार हुने गरेको यातायात व्यवस्था विभागको तथ्यांकले देखाएको छ ।
यातायात व्यवस्था विभागले सार्वजनिक गरेको आव २०७५/७६ सम्मको तथ्यांकअनुसार नेपालमा २५ लाख बढी मोटरसाइकल दर्ता भएका छन् । आव २०७४/७५ मा मात्र २ लाख ५० हजार मोटरसाइकल दर्ता भएका छन् ।
ठूलो मात्रामा आयात हुने मोटरसाइकल तथा स्कुटर धेरै पुराना भएपछि कता जान्छन् होला ? यो जिज्ञासा धेरैलाई हुने गर्छ । त्यस्ता कतिपय सवारीसाधन त्यत्तिकै थन्किन्छन् भने केहीका पार्टपुर्जा खोलेर पुनः प्रयोगमा ल्याउने गरिन्छ । यस्ता पार्ट्सको ठूलो हिस्सा देशभित्रै पुनः प्रयोगमा आउने गरेका छन् ।
मर्मतविना प्रयोगमा आउन नसक्ने पार्ट्स भने विभिन्न माध्यमबाट भारतमा निर्यात भई मर्मतपछि पुनः नयाँ मोटरसाइकलमा पनि प्रयोग हुने गरेको पाइन्छ ।
प्रयोगमा आउन नसक्ने गरी विग्रिएर थन्किएका यस्ता सवारीसाधनलाई कवाडी सामान संकलन गर्ने व्यवसायीहरुले जम्मा गरी पार्टपूर्जा निकालेर पुन प्रयोगमा ल्याउने गरेको यो व्यवसायमा संलग्न व्यवसायी बताउँछन् । उनीहरुका अनुसार नेपालमा संकलन हुने मोटरसाइकलका अधिकांश पुराना/बिग्रिएका पार्ट्स भारतमा निर्यात हुने गरेका छन् । टेकुको भित्री गल्लिमा मात्र यस्ता मोटरसाइकल उठाउने आधादर्जन बढी व्यवसायी कार्यरत छन् । ति मध्येका एक हुन् इन्द्रबहादुर शाही ।
शाहीले २५ वर्षअघि फलाम, प्लास्टिक, विद्युतीय सामान, मोटरसाइकल लगायतका कवाड सामानको व्यवसाय शुरू गरेका थिए । यो व्यवसाय उनले २०६२ सालमा पचली कवाड सेन्टर नाममा दर्ता गरेका छन् । त्यसपछि कवाड मोटरसाइकलको मात्र व्यवसाय हुने गरेको उनले बताए । आफ्नो कवाड सेन्टरमा ८०० भन्दा बढी मोटरसाइकललाई पुग्ने इन्जिनदेखि प्लास्टिक कभरसम्मका पार्ट्स र ६०० भन्दा बढी पूर्ण कवाड मोटरसाइकल भएको उनले बताए ।
कसरी पुग्छन कवाड सेन्टरमा मोटरसाइकल
सरकारले गर्ने पुराना मोटरसाइकलको लीलामी र कम्पनीद्वारा गरिने एक्सचेन्ज क्याम्पमार्फत उठाइने यस्ता मोटरसाइकल कवाड सेन्टरमा पुग्छन् । हिजोआज दैनिकजसो कुनै न कुनै कम्पनीले एक्सचेन्ज क्याम्प चलाइ नै रहेका हुन्छन् । उनीहरुले नयाँ मोटरसाइकलको कारोवार बढाउन थोत्रा र कामै नलाग्ने मोटरसाइकलमा समेत उच्च मुल्य दिएर नयाँसंग सट्टापट्टा गर्छन् । त्यस्ता मोटरसाइकल समेत यीनै कवाड सेन्टरमा पुग्ने गरेको शाहीले बताए । उनका अनुसार यसरी उठाइने मोटरसाइकलमध्ये ५० प्रतिशत मकवाडीद्वारा भारत निर्यात हुन्छन् ।
कवाड सेन्टरबाटै पुराना पार्टपूर्जाको कारोवार
कवाड सेन्टरमा जम्मा गरिएका यस्ता मोटरसाइकलको पार्टपूर्जा निकालेर पुन बिक्री गर्ने गरेको समेत शाहीले बताए । ‘हामीकहाँ प्राय सबैजसो कम्पनीका पुराना मोटरसाइकलको पार्ट्स पाइने हुँदा ग्राहकहरु खोजी खोजी आउँछन् उनले भने, ‘बाइक चल्न छाडेपछि पनि कतिपय पार्ट्स नयाँजत्तिकै बलियो हुने भएकाले खरीदका लागि दैनिक सयौं सेवाग्राही आउने गर्छन् । बर्षौअघि बजारमा भित्रिएका तर अहिले उत्पादन बन्द गरिएका पुराना मोडलका मोटरसाइकल चलाउने ग्राहकहरु अन्यत्र पार्ट्स नपाएपछि हामीकहाँ आउने गरेका छन् ।’ यतिमात्र होइन सेकेन्ट ह्यान्ड पार्टस सस्तो पर्ने प्रलोभनमा समेत धेरै ग्राहक यस्ता सेन्टर धाउने गरेका पाइन्छन् ।