नेपालगञ्ज – तीन तहका सरकारले वित्तीय अनुशासन उल्लघंन गर्ने क्रम बढेको भन्दै चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज ( सेजन)ले जनप्रतिनिधि, पत्रकार लगायत सरोकारवाला पक्षसंग शुक्रवारदेखि नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रियामा यस्तो चिन्ता प्रकट गरिएको हो ।
पहिलो दिन जनप्रतिनिधिसंग छलफल गरेको सेजनले शनिवार यहाँका पत्रकारहरुसंग छलफल आयोजना गरेको छ । उक्त छलफलमा बोल्दै अर्थशास्त्री डिल्लीराज खनालले आर्थिक अनुशासनको भयावाह परिस्थिती आउनु भन्दा पहिल्यै खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले भने,–‘यस सम्बन्धमा पत्रकारदेखि जनतासम्मले निरन्तर प्रश्न उठाउनुपर्छ ।’ अर्थशास्त्री खनालले भएकै नीति, नियम समेतलाई बेवास्ता गर्दै आर्थिक गतिविधि गर्ने काम भइरहेको बताए ।
कर्णाली प्रदेशका मुख्य सचिव केवल किरण भण्डारीले पनि आर्थिक अनुशासनलाई सही ‘ट्रयाक’ मा ल्याउन सबैले प्रश्न गर्नुपर्नेमा जोड दिए । सेजनका अध्यक्ष पुष्पराज आचार्यले आर्थिक मुद्दामा पत्रकारलाई थप क्रियाशिल बनाउने उदेश्यले मोफसलमा पनि निरन्तर छलफल तथा प्रशिक्षण जस्ता कार्यक्रमलाई गरिरहेको बताए । सेजनका महासचिव भिम गौतमले यस्ता कार्यक्रमले आर्थिक मुद्दामा कलम चलाउन थप प्रोत्साहन मिल्ने उल्लेख गरे ।