स्वदेशी उद्योगकै चिनी खपत गर्छन् नेपालस्थित बहुराष्ट्रिय कम्पनी


काठमाडौं । सरकारले चिनीमा परिमाणत्मक बन्देज लगाएपछि नेपालमा रहेका तीन ठूला बहुराष्ट्रिय कम्पनीले स्वदेशी उद्योगले उत्पादन गरेको चिनी उपभोग गरेका छन् ।

नेपालमा रहेका बोटलर्स नेपाल, डाबर नेपाल र वरुण बेभरेजले आर्थिक वर्ष २०७५/७६ मा २ लाख ५७ हजार ६ सय ४६ क्विन्टल चिनी आफ्नो मुख्य उत्पादनका लागि खरिद गरेका हुन् ।

२०७५ भदौ ३१ बसेको मन्त्रिपरिषद् बैठकले चिनीमा परिमाणात्मक बन्देज लगाएको छ । त्यसयता, नेपालमा चिनी आयात भएको छैन । चिनी ल्याउन नपाउने स्वदेशी चिनी उद्योग र किसानलाई संरक्षण गर्नका लागि सरकारले विदेशबाट आयात हुने चिनीमा रोक लगाएको हो ।

सरकारले विदेशी चिनी आयातमा कडाइ गरेपछि नेपालका रहेका बुहराष्ट्रिय कम्पनीले ठूलो परिणममा चिनी खरिद गर्न लागेका हुन् ।

गत आर्थिक वर्षमा बोटलर्स नेपालले एक लाख २२ हजार ७ सय ४१ क्विन्टल चिनी स्वदेशी उद्योगबाट खरिद गरेको छ । बोटलर्स नेपालले हिमालय सुगर मिलसँग ९८ हजार ७ सय ९ र भागेश्वर सुगर मिलसँग २४ हजार ३२ क्विन्टल चिनी खरिद गरेको हो ।

त्यसैगरी, वरुण बेभरेजले स्वदेशी चार चिनी उद्योगबाट एक वर्षका ९३ हजार २ सय क्विन्टल चिनी खरिद गरेको हो । वरुणले एभरेस्ट सुगरबाट एक हजार ७ सय २०, श्रीराम सुगरबाट ४ सय २०, हिमालय सुगर मिलबाट ६० हजार ८ सय ५०, भागेश्वर सुगर मिलबाट ३० हजार २ सय १० क्विन्टल चिनी खरिद गरेको हो ।

डाबर नेपालले स्वदेशी उद्योगसँग ४० हजार ७ सय ५ क्विन्टल चिनी खरिद गरेको हो । डाबरले रिलायन्स सुगर मिलबाट ३२ हजार ७ सय ५ र इन्दुशङ्कर सुगर मिलले ८ हजार क्विन्टल चिनी खरिद गरेको चिनी उद्योग सङ्घले उपलब्ध गराएको तथ्याङ्कमा देखिएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा वरुण बेभरेजले मात्रै स्वदेशी उद्योगसँग ५ हजार ९ सय ६५ क्विन्टल चिनी किनेको थियो ।

बहुराष्ट्रिय कम्पनीको मागलाई समेत धान्ने गरी चिनी स्वदेशी उद्योगमै रहेको र यहीबाट उनीहरुले धमाधम चिनी खरिद गरेर मुख्य उत्पादन बनाइरहेको नेपाल चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए । ‘एक वर्षसम्म बजारमा चिनी अभाव भएन, त्यसको कारण उद्योगसँग पर्याप्त चिनी थियो,’ उनले भने, ‘यसबाट नेपालमा चिनी पर्याप्त रहेको भन्ने समेत पुष्टि भयो ।’

सस्तो मूल्यमा भारतसहित तेस्रो मुलुकबाट चिनी आयात हुँदा स्वदेशी उत्पादन गोदाममै थन्किने गरेको र किसानले समेत समयमा भुक्तानी पाउँदैनथे । तर यो वर्ष त्यो समस्या हल भयो ।

गोदामबाट धमाधम चिनी बिक्री भएपछि किसानले पनि सहजै रुपमा आफ्नो भुक्तानी पाएको अग्रवालले जानकारी दिए । स्वदेशी उत्पादनले बहुराष्ट्रिय कम्पनीको मात्रै नभई देशको सम्पूर्ण चिनीको माग धानेको छ । त्यसैले तत्काल अझै केही समयका लागि परिमाणात्मक बन्देज आवश्यक रहेको चिनी उद्योगी र किसानले बताउँदै आएका छन् ।

अग्रवालका अनुसार अझै चिनी उद्योगसँग एक लाख टन चिनी मौज्दात छ । त्यसले नेपालको ६ महिनाको माग धान्ने उनको भनाइ छ ।क्यापिटल नेपालबाट

प्रकाशित मितिः     १२ श्रावण २०७६, आईतवार ०७:०२  |