काठमाडौं । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७६/०७७ को बजेट १ अर्ब २५ करोडदेखि ३० करोड रुपैयाँसम्मको ल्याउने तयारी गरिरहेको छ । बोर्डको बजेट गत वर्षको भन्दा यस वर्ष केही घटेर आउन लागेको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।
बोर्डले गत वर्ष १ अर्ब ७५ करोड रुपैयाँको बजेट ल्याएको थियो । साउनभित्र बजेट ल्याउने गरी सञ्चालक समितिमा अन्तिम छलफल भइरहेको उनको भनाइ छ । गत वर्ष अघिल्ला वर्षका बजेट पनि खर्च नभई बाँकी रहेकाले धेरै भएको बताउँदै यस वर्ष घटेर बजेट आउन लागेको प्रमुख कार्यकारी अधिकृत जोशीको भनाइ छ ।

गत वर्ष प्रवर्द्धनमा ३७ करोड ३५ लाख, प्रचारप्रसारमा ३२ करोड ५६ लाख ५० हजार, पर्यटन सम्पदा तथा संशोधन विकासमा २४ करोड ३९ लाख ५० हजार, बोर्डको पोखरा कार्यालयका लागि ७६ करोड ६५ लाख, हिमालयन ट्राभल मार्टका लागि २० करोड, बुद्धिष्ट ट्राभल मार्टका लागि १० करोड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयतर्फ ५० लाख तथा कार्यकारी समितिको निर्णयबाट गरिने कार्यक्रममा ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।