बुद्धिमान पुन
सल्यान । सल्यानका विभिन्न सामुदायिक वनबाट वर्षेनी खोटो संकलन गरी निर्यात गरिँदै आएको छ । जिल्लाका विभिन्न सामुदायिक वनमा प्रशस्त सल्ला पाइने भएकाले खोटो संकलन गर्दै निर्यात गरिने गरेको डिभिजन वन कार्यालय सल्यानले बताएको छ ।
अहिले जिल्लाका विभिन्न ३४२ ओटा सामुदायिक वनबाट खोटो संकलन भइरहेको छ । यी सामुदायिक वनले वर्षेनी खोटो विक्रीबाट लाखौं आम्दानी गर्ने गरेका छन् । खोटो संकलन चैतदेखि कात्तिकसम्म मात्र गर्न पाइन्छ । यसरी संकलित खोटो विभिन्न ९ ओटा खोटो संकलक कम्पनीले लिने गरेका छन् । खोटो कागज चिल्लो पार्न, रङ, गम, अगरबत्ती, साबुनमा रोजिन प्रयोग गर्न, शृंगारका सामग्री र रबर आदिमा प्रयोग गरिन्छ ।
डिभिजन वन कार्यालयका डिभिजन प्रमुख थीरबहादुर कार्कीले जिल्लाबाट आव २०७५÷७६ मा साढे ३ करोड रुपैयाँको खोटो निर्यात भएको बताए । जिल्लाबाट निकासी भएको १ लाख ५० हजारभन्दा बढी टिन खोटोबाट ३ करोड ६० लाख रुपैयाँ जिल्लामा भित्रिएको उनको भनाइ छ । प्रतिटिन २०४ रुपैयाँका दरले विक्री भएको उनले बताए ।
कार्कीले खोटो विक्रीबाट भएको आम्दानी वन समूहको साधारणसभाको निर्णय अनुुसार २५ प्रतिशत वन विकास कार्यमा खर्च गर्नुपर्ने बताए । यस्तै उनले ३५ प्रतिशत वन समूहभित्रमा नै गरीबी निवारण कार्यमा खर्च गर्नुपर्ने र बाँकी विकास निर्माण कार्यमा खर्च हुने बताए । खोटो संकलन गर्दा सल्लाको फेदमा ठूलो घाउ बनाउनुपर्ने हुँदा सल्ला केही वर्षमा नै सुक्ने सम्भावना धेरै हुने उनले बताए ।