काठमाडौं । सामाजिक सुरक्षा कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिलमणि ज्ञवाली नियुक्त भएका छन् । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा रहेको छनोट समितिले ज्ञवालीलाई नियुक्त दिने निर्णय गरेको हो ।
प्रतिस्पर्धामा कर्मचारी सञ्चय कोषका चिफ म्यानेजर अर्जुन गौतम, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव लोकनाथ पोखरेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा परामर्शदाताका रुपमा काम गरेका विश्वराज बर्तौला थिए । छनोट समितिले प्रतिस्पर्धीहरुसँगको व्यावसायिक कार्ययोजना, अन्तर्वार्ता, शैक्षिक योग्यता र कार्यअनुभवलगायतका पक्षलाई समेटेर सीईओ नियुक्ति दिने निर्णय गरेको हो । छनोट समितिमा संयोजक शिवाकोटीका अतिरिक्त अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनी र कानुनका सहसचिव हुमबहादुर केसी सदस्य थिए ।
सूचना प्रविधिका क्षेत्रमा बढी विज्ञ मानिएका ज्ञवालीले राष्ट्रिय वाणिज्य बैङ्कबाट गत भदौ १३ गते अवकाश लिएका थिए । राष्ट्रिय वाणिज्य बैङ्कमा २०४५ भदौ १३ गते प्रवेश गरेका ज्ञवाली ३० वर्षे सेवा अवधि पूरा गरी नायब महाप्रबन्धकबाट अवकाश पाएका हुन् । उनले राष्ट्रिय वाणिज्य बैङ्कलाई सूचना प्रविधिको युगमा प्रवेश गराउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ । सुरक्षा कोष नयाँ अवधारणा भएकाले त्यसलाई व्यवस्थित बनाउने जिम्मेवारी भने उनका अघि चुनौतीका रुपमा छ ।
तत्कालका लागि सामाजिक सुरक्षाकोष सानो भए पनि भविष्यमा कोषमा विशाल रकम जम्मा हुने र त्यसलाई उचित तरिकाबाट व्यवस्थापन गर्नुपर्ने भएकाले सीईओ नियुक्त गरिएको हो । हाल सामाजिक सुरक्षा कोषमा करिब २२ अर्ब रुपैयाँ छ । चालू आर्थिक वर्षदेखि अनिवार्य सामाजिक सुरक्षा कोषमा जाने स्किम आएकाले आगामी दिनमा कोषको आकार ह्वात्तै बढ्ने देखिन्छ । हाल करिब ४ हजार साना ठूला प्रतिष्ठानले सामाजिक सुरक्षा कोषमा सामेल हुने सहमति जनाइसकेका छन् ।