सामुदायिक विद्यालय र मदरसाको अनूगमन


नेपालगञ्ज,साउन १४ । नेपालगञ्ज उप–महानगरपालिकाका कार्यबाहक प्रमुख जुम्मन खाँले मंगलबार सामुदायिक विद्यालय र मदरसाको अनूगमन गर्नुभएको छ । वडा नम्बर ७, वडा नम्बर १४ र वडा नम्बर १६ मा रहेका तीनवटा सामुदायिक विद्यालय र एउटा मदरसाको आकस्मिक अनूगमन गर्नुभएका कार्यबाहक मेयर खाँले विद्यालयमा विद्यार्थीको उपस्थिती न्यूनसंख्यामा हुनु डरलाग्दो भएको बताउनुभयो ।

एउटा कक्षामा ४९ जना विद्यार्थी भर्ना भएको अवस्थामा ११ जना मात्रै विद्यार्थी कक्षामा उपस्थित भएको पाइयो, कार्यवाहक प्रमुख खाँले भन्नुभयो,– सामुदायिक विद्यालय र मदरसामा गुणस्तरीय शिक्षाका लागि सरोकारवाला निकायसँगै अभिभावकको पनि ध्यान पुग्न आवश्यक देखिएको छ । कार्यबाहक प्रमुख खाँले नेपालगञ्जमा निर्माण सम्पन्न हुने अवस्थामा पुगेका बसपार्क र ल्याण्डफिलसाईटको कामको बारेमा समेत स्थलगत अनूगमन गरि जानकारी लिनुभएको छ ।

यसैबीच नेपालगञ्ज उप–महानगरपालिका कार्यपालिका बोर्डले नवनियुक्त कानूनी सल्लाहकार लोकबहादुर शाह र प्रेस सल्लाहकार गोविन्द शर्मासँग मंगलबार परिचयात्मक कार्यक्रम गरेको छ । सो अवसरमा कार्यबाहक प्रमुख खाँ, प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल, प्रबक्ता प्रमोद रिजाल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आपसी सहकार्य र समन्वयमा उप–महानगरपालिकामा काम गर्न सुझाव दिनुभयो ।

प्रकाशित मितिः     १४ श्रावण २०७६, मंगलवार १७:२८  |