- क्यापिटल नेपाल डटकमबाट
काठमाडौं । सहकारी विभागले वचत तथा ऋण सहकारी संस्थाको सन्दर्भ ब्याजदर तोक्ने भएको छ । यसका लागि विभागले आन्तरिक तयारी गरेको छ । विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीको ब्याजदर निर्धारण गर्नबाट पछि नहट्ने बताएका छन् । ‘भावना र इमोसनले सहकारीको ब्याजदर नतोकिने हुदैन’,उनले भने,‘अब छिट्टै नै सन्र्दभ ब्याजदर निर्धारण हुन्छ ।’ प्राविधिक कमिटीले दिएको प्रतिवेदनको आधारमा छलफल भइरहेको बताउदै रजिष्ट्रार पाण्डेले छिट्टै सरोकारलाला निकायको छलफल सन्र्दभ ब्याजदर निर्धारण हुने बताए ।
‘कसैको दवाव आएपनि सन्र्दभ ब्याजदर निर्धारण गर्ने जिम्मेवारीबाट पछि हट्ने छैनौं’ उनले भने, ‘ऐनले दिएको अवसर गुम्न दिने छैनौं ।’ सहकारीको सन्दर्भ ब्याजदर जारी गर्न सकियो भने वित्तीय क्षेत्रमा सहकारीको योगदान बढ्नुका साथै उद्यमशीलता बढ्ने उनले बताए । सन्दर्भ ब्याजदर निर्धारण गर्ने सवालमा एकरुपता ल्याउन जटिलता सिर्जना भएपनि एउटा नम्बरमा पुग्न लागिएको रजिष्ट्रार पाण्डेले बताए ।
नेपाल राष्ट्र बैंकका निर्देशक नरेन्द्र विष्टले केही सहकारीले थोरै ब्याजदरमा पनि ऋण दिने गरेको भन्दै सहकारीको ब्याजदर घटाउन सकिने बताए । ‘छलाङ मारेर २४÷२५ प्रतिशतलाई झारेर १२/१३ प्रतिशत बनाउन सकिने अवस्था छैन्,’उनले भने।
सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गर्दा नियम मान्ने कि व्ववहार मान्ने भन्ने प्रश्न खडा भएको उनको भनाइ छ । कुुनै समयमा बैंकको ब्याजदर बजारलाई छोडिए पनि त्यसले समस्या सिर्जना गर्दा पछिल्लो समयमा आधार ब्याजदर निर्धारण गर्न थालिएको बताए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले वचत तथा ऋण सहकारीको ब्याजदर १६.५ प्रतिशत भन्दा कम बनाउन नहुने बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाजले मंगलबार राजधानीमा आयोजना गरेको ‘सहकारीको सन्दर्भ ब्याजदर निर्धारण’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष बडालले सहकारीको ब्याजदर साढे १६ प्रतिशतभन्दा कम भए मर्कामा पर्ने जिकिर गरे ।
‘सहकारीको ब्याजदर निर्धारण गर्न अपरिहार्य भइसकेको छ’,उनले भने,‘साढे १६ प्रतिशत भन्दा तल झारिए सहकारी मर्कामा पर्ने निश्ति छ ।’ ब्याजदर निर्धारणका लागि महासंघले साढे १७ प्रतिशत सिफारिस गरेपनि समितिले उचित निर्णय गर्ने बडालले बताए । सहकारी ऐन २०७४ मै सन्दर्भ ब्याजदर उल्लेख गर्दा पनि निर्णय गर्न गाह्रो भएको बताए ।
‘सन्दर्भ ब्याजदर निर्धारण गर्ने विषय सरकारले लादेको विषय होइन, यो अभियानका लागि अपरिहार्य विषय हो ।’ उनले भने । सहकारीमा समस्या भएको स्वीकार गर्दै अध्यक्ष बडालले चल्न नसके सहकारी मर्जरमा जानुपर्ने बताए । एउटै संस्था वा व्यक्तिलाई पटकपटक ऋण दिदाँ डुब्ने खतरा हुने भन्दै सहकारीले त्यसतर्फ सजग हुनुपर्ने बताए ।
कतिपय सहकारी बैंकिङ प्रणालीमा जान खोजेको चर्चा गर्दै अध्यक्ष बडालले त्यस्ता सहकारीलाई सिद्वान्तमै बस्न निर्देशन दिए । ‘सिद्वान्त र मर्मभन्दा दायाँबायाँ जान कसैलाई अधिकार छैन्’ उनले भने ।