-वसन्तराज उप्रेती/बिजमाण्डू
काठमाडौं।योगेश भट्टराई पर्यटनमन्त्री भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै आफ्ना योजनाको फेहरिस्त सुनाए। पदभार ग्रहण गरेको एक साताको अवधिमा आफ्ना मातहत रहेका नेपाल वायुसेवा निगम,नेपाल नागरिक उड्डयन प्राधिकरण,नेपाल पर्यटन बोर्ड,नेपाल पर्यटन विभाग,राष्ट्रिय अभिलेखालय लगायतका संस्थासँग विफ्रिङ लिएपछि आफ्नो योजना सुनाएका हुन्।
भट्टराईले सबैभन्दा पहिला एनएसीको पुर्नसंरचनालाई अघि बढाउने देखिएको छ।त्यही आधारमा उनले पूर्व पर्यटन सचिव सुशील भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय सुधार अध्ययन कार्यदल गठन गरिसकेका छन्।‘मैले साउन १५ गते नेपाल वायुसेवा निगमलाई वा!! नेपाल वायुसेवा निगम बनाउँछु भनेको थिए।त्यसैले मैले धेरै बैठक निगमकै पदाधिकारीसँग गरे। समाधान खोज्नका लागि कार्यदल पनि बनाएको छु’ उनले भने।उनले कार्यदलले एक महिनाभित्र अध्ययन प्रतिवेदन दिने र सुधारका लागि तत्कालै लाग्ने बताए।
‘गाउँतिर कालिज मार्न भरुवा बन्दुक लिएर जान्छन्। अब भरुवा बन्दुक लिएर जाने होइन।एक महिनाभित्र निशाना जहाँ लगाउने हो त्यहीँ लगाउने गरी काम गर्न निर्देशन दिएको छु,’ भट्टराईले भने,’अर्को महिना हामी एक्सनमा उत्रन्छौँ। त्यो समयसम्म निगमको कार्यकारी अध्यक्ष लगायत कर्मचारीलाई विजनेश प्लान, आन्तरिक उडानका लागि ल्याइएका ग्राउण्डेड जहाज उडान गर्न निर्देशन दिएको छु।’ उनले विमानस्थलमा सुविधायुक्त अत्याधुनिक बस संचालनमा ल्याउने बताए।
नेपाली उड्डयन क्षेत्रलाई यूरोपियन यूनियनको सुरक्षा सुचीबाट हटाउन प्राथमिकता दिने भट्टराईले बताए।’यो विषयमा प्रधानमन्त्री ज्यूले भ्रमणका समयमा पहल गर्दै आउनुभएको छ। परराष्ट्र र पर्यटन मन्त्रालयले पनि आफ्नो भूमिका अनुसार काम गरिरहेका छन्।उनीहरुका केही शर्त छन् हामी संबोधन गर्दैछौं,’ उनले भने। उनले इयुको प्रतिवन्धलाई हटाएर नेपाली ध्वजावाहक जहाजले युरोपको आकाशमा उडान गर्ने दिन टाढा नरहेको दाबी गरे।
मन्त्री भट्टराईले नयाँ ऐन ल्याएर नेपाल नागरिक उड्डयन प्राधिकरणको नियामक निकाय र सेवा प्रदायक विभाजन गर्न प्रक्रिया अगाडी बढाउने बताए।मन्त्री भट्टराईले स्वदेशमै पाइलट उत्पादनका लागि फ्लाइङ स्कुल निर्माण गर्ने बताउँदै विदेशमा ५० लाख भन्दा बढी खर्च हुने पढाइलाई कम खर्चमा पढ्न सकिने व्यवस्था गरिने बताए।उनका अनुसार फ्लाइङ स्कुल निर्माणका लागि नेपाल सरकार र वायुसेवा कम्पनीको लगानी हुनेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा परिमार्जनका कामलाई गति दिइने मन्त्री भट्टराईले बताए। ‘हाल परम्परागत र संस्कृति झल्काउने कला राखिएका छन्। जुनसुकै मुलुकबाट आउने पर्यटकले नेपालको प्रकृति र संस्कृतिको झलक त्यहाँ पाउनसक्ने किसिमले परिमार्जन गरिनेछ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ७३ प्रतिशत काम सकिएको बताउँदै विमानस्थल व्यवस्थापनका लागि चासो देखाएका कम्पनीसँग छलफल गरिने उनले बताए।उनले संचालन गर्न दिनुअघि मोडालिटी स्पस्ट पारिने बताए। भट्टराईले डिसेम्बरमै विमानस्थल संचालनमा ल्याउन ग्राउण्ड लाइटिङ र विमानस्थल व्यवस्थापनको काम छिटोसक्न निर्देशन दिएको बताए।
विमानस्थल व्यवस्थापनका लागि इच्छुक कम्पनी अध्ययनका लागि कमिटी गठन भइसकेको उनले बताए। विहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवलोकनका लागि मन्त्री जाँदैछन्।
पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सन्तोषजनक रहेको बताउँदै उनले भने,’हाल सम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ। सन् २०२१ जुन सम्म यो विमानस्थल संचालनमा ल्याउने भनेपनि कामको ग्राफ र प्रगति हेर्दा तोकिएको समय भन्दा अगाडी नै यो विमानस्थल संचालनमा आउनेछ।’
वहुप्रतिक्षित विमानस्थल निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास यही वर्ष भित्र गरिने मन्त्री भट्टराईले दाबी गरे। ‘२४ वर्ष अगाडिदेखि यो विमानस्थलको चर्चा चलिरहेको छ। कामको प्रगति कम। बाहिर जति पनि टिकाटिप्पणी चलेपनि निजगढ विमानस्थलको अर्को विकल्प खोज्ने छैनौँ। निजगढ विमानस्थलनै काठमाडौं विमानस्थल हो। फास्ट ट्र्याक जोडिएपछि एक घण्टामै आवतजावत गर्न सकिन्छ।’ उनले भने।
टाँगिया वस्ती स्थानान्तरण लागि दुईवटा मोडालिटी रहेको उनले बताए। वस्ती स्थानान्तरण गर्दा सम्वन्धित व्यक्तिलाई मुआब्जा दिइने वा स्थानीय सरकारको साझेदारीमा गर्ने दुई विकल्प हुन्। ‘टाँगिया वस्तीबाट उठेर जानुपर्ने व्यक्तिहरुलाई हामी नांगो खुट्टा पठाउँदैनौँ। उहाँहरु खुला आकाशमुनी बस्नुपर्दैन। उहाँहरुको लागि सम्मानजनक व्यवस्थापन हुनेछ।’ उनले भने। मन्त्री भट्टराईले वन विनाश गर्न नआएको तर विमानस्थल बन्नुपर्ने जिकिर गरे।
‘म वातावरण विनाश र विध्वंश गर्न आएको होइन। म निजगढमा नेपालको मात्र होइन विश्वको सानदार एयरपोर्ट बनाउन आएको हो। रुख व्यवस्थापनको पनि वैकल्पिक व्यवस्थापन गरिनेछ,’ मन्त्री भट्टराईले भने।
निजगढ विमानस्थललाई अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सर्वदलीय राजनीतिक सहमति निर्माण गर्ने उनले बताए। ‘अब धेरै समय लगाउँदैनौँ। यसको ठूलो अध्ययन गर्नेपर्ने विषय छैन। अब एउटा लजिकल कन्क्लुजनमा पुर्याउने छौँ।’ उनले भने।
निजगढ विमानस्थल आयोजनाको लगानीको ग्यारेण्टी मूख्य चासोको विषय रहेको उनले बताए। लगानी बोर्डसँग लगानी मोडालीटी निश्चित गरी २०१९ भित्रै शिलान्यास गर्ने लक्ष्य रहेको उनले बताए।
मुलुकभित्र रहेका राजविराज, भरतपुर, सुरखेत लगायत थप तीनवटा विमानस्थलमा रात्रीकालिन उडान योग्य बनाउने योजना रहेको बताए। उनले अन्तर प्रदेशीय उडानका लागि छिट्टै वायुसेवा कम्पनीसँग बैठक बस्ने योजना सुनाए।यसैगरी भूकम्पले क्षतिग्रस्त सम्पदा पुनर्निर्माण कार्यलाई अगाडी बढाउने बताए।
विहीबार लुम्बिनी विकास बोर्डको बैठक हुँदैछ।भ्रमण वर्ष २०२० लक्षित बुद्धिस्ट सर्किटको डिपिआर बनाउने लगायतका काम अगाडि बढाउने योजना रहेको उनले बताए। पशुपति क्षेत्र विकास कोष अन्तर्गत सम्पदा पुर्नर्निर्माणको काम अघि बढाउने बताए। साभार