नेपालगञ्ज – १६ वर्षको उमेरमै बिवाह छोरीको बिवाह गर्न पाउनुपर्ने माग गर्दै बिहिवार पनि नेपालगञ्जमा एकाध पुरुषको अगुवाईमा महिलाहरुको एउटा समूहले नेपालगञ्ज उपमहानगरपालिका अगाडी धर्ना दिदै चक्काजाम गरेको छ । चक्काजामका कारण नेपालगञ्जको सवारी सञ्चालन केहीबेर प्रभावित भयो ।
कानून बिपरित बिवाह गर्न पाउनुपर्ने भन्दै चक्काजाम गर्ने उक्त समूह कुनै संगठित शक्ति भने होइन । जानकी गाउँपालिका वडा नम्बर ६ का रामदेव मिश्रले दुधे बालक सहितका आमा र बृद्धालाई उचालेर चक्काजाम गर्न लगाएका हुन । सामाजिक कार्यकर्ताका रुपमा चिनाउन चाहाने मिश्रले जानकी गाउँपालिका र र नेपालगञ्ज उपमहानगरपालिकाबाट दर्जनौ महिलालाई सडकमा उतारेका थिए । उनको भनाईको पछि लागेर आएका महिला चर्को गर्मीमा चक्काजाममा उत्रिए । यही समूहले यसअघि जानकी गाउँपालिकामा छोरीको बिवाहको सम्पुर्ण खर्च दिनुपर्ने माग सहित धर्ना दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा मिश्रकै समूहले १६ वर्षमुनीका किशोरीले बिहे गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाए । उनका अनुसार, उक्त समूदायमा ढिलो बिवाह गर्दा आमाबुवाले गरिवीका कारण पाल्न नसक्ने, छोरी भागेर अन्तै जाने भएकाले समाजका अगाडी लाज हुने अवस्था सिर्जना हुन्छ । यस्ता तर्क राखेर बालविवाहलाई प्रश्रय दिने गरी चक्काजामसम्म गर्न भ्याएका छन् ।