बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा दिने व्याज र कर्जा प्रवाह गर्दा लिने व्याजबीचको अन्तर नै स्प्रेड रेट हो । उदाहरणका लागि, कुनै एउटा बैंकले निक्षेपबाट औसतमा तीन प्रतिशत व्याज दियो र लगानीबाट औसतमा पाँच प्रतिशत व्याज उठायो भने उक्त बैंकको स्प्रेड रेट दुई प्रतिशत हुन्छ ।
वास्तवमा स्प्रेड रेट बैंकहरुको कमाईसँग जोडिएको हुन्छ । सर्वसाधारणबाट लिएको निक्षेपलाई लगानी गरेर उक्त लगानीबाट आएको व्याजदरबाट निक्षेपकर्ताको व्याज भुक्तानी गरेर बचेको रकम नै बैंकको आम्दानी हो । उक्त आम्दानीबाट संचालन खर्च छुट्याएर बचेको रकम बैंकको मुनाफा हो । त्यसैले, नियामक निकायले स्प्रेड दर निर्धारण गर्दा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ ।
स्प्रेड दर निर्धारण गर्नु बैंकहरुका लागि मात्र नभएर बैंकका ग्राहकहरुका लागि पनि जरुरी हुन्छ । व्याजदरको निश्चित मापदण्ड तोकिँदा निक्षेपकर्ता र ऋणीहरु दुवैलाई सहज हुन्छ भने बैंकहरुले मनपरी रुपमा आफ्नै ढंगले व्याजदर निर्धारण गर्ने अवस्था रहँदैन । यस हिसाबले हेर्दा, स्प्रेड दरले निक्षेपकर्ताको सुविधा, ऋणीको सहजता र बैंक तथा वित्तीय संस्थाको संचालन सबैलाई सन्तुलित र स्वस्थ बनाउने काम गर्दछ ।