काठमाडौं। इन्टरनेट कम्पनी सुबिसुमा बुधबार भएको आगलागीको क्षतिको एकिन तथ्यांक अझै आउन सकेको छैन।तर कम्पनीले बीमा गरेकोले क्षतिपूर्ति भने सहजै पाउनेछ।कम्पनीले शिखर इन्स्योरेन्समा बीमा गराएको छ।
कम्पनीले ८० करोड रुपैयाँ बराबरको बीमा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधिर पराजुलीले जानकारी दिए। बीमा कम्पनीले आगलागी भएपछि स्थलगत अध्ययन गरेको थियो।
आगलागीबाट भएको क्षतिको एकिन तथ्यांक तयार पारिरहेको उनले बताए। उनले भने- ‘जलेका उपकरणको मूल्य यकिन हुन नसकेकोले तथ्यांक आउन सकेको छैन। उपकरणको मूल्य फरक/फरक हुने भएकाले केही समय लाग्छ।‘
आगलागी हुँदा लगभग सबै सामानको क्षति भएको कम्पनीले जनाएको छ। बालुवाटारस्थित केन्द्रिय कार्यालय भित्र दुई हजार लिटरको प्रेट्रोलियम ट्याङ्की थियो। यही ट्याङ्कीमा आगलागी हुँदा कार्यालय पूर्ण रुपमा क्षति भएको हो।