- खेमराज श्रेष्ठ/बिजमाण्डू
काठमाडौं। स्वदेशी उद्योगीनै सक्षम भइसकेको भन्दै सिमेन्टमा विदेशी लगानीमा रोक लगाउन माग गरेका छन्। नेपाल सिमेन्ट उत्पादक संघले शुक्रबार उद्योगमन्त्री मातृका यादबसहित सरोकारवालासँग गरेको छलफलमा विदेशी लगानी तत्कालै रोक्नुपर्ने जिकिर गरे।
संघका अध्यक्ष ध्रुब थापाले स्वदेशी लगानीकर्तानै सिमेन्ट उद्योगमा लगानी गर्न सक्षम रहेको र माग भन्दा बढी उत्पादन भइसकेकोले विदेशी लगानी रोक्नुपर्ने बताए।उनका अनुसार अहिले वार्षिक १ करोड टन सिमेन्टको माग छ।तर अहिले भएका उद्योगको क्षमतानै १ करोड ५० लाख टन छ। चिनियाँ लगानीको होङसी शिवम सिमेन्ट आएपछि स्वदेशी उद्योगीले विदेशी लगानी आवश्यक नरहेको भन्दै लविङ गर्दै आएका छन्। अहिले मुलुकभित्र झण्डै ६० उद्योग छन्।केही ठूला लगानीमा अरु सिमेन्ट उद्योग पनि थपिने क्रममा छ।
अहिले स्वदेशी लगानीका उद्योगलेनै क्षमता विस्तार गरेर सिमेन्ट उत्पादन गरिरहेका छन्।पछिल्लो समयमा चिनियाँ लगानीकै हुवासिन सिमेन्टले पनि उद्योगको पूर्वाधार बनाइरहेको छ।
अफ्रिकी कम्पनी डाङगोटेले समेत उद्योग लगाउने भन्दै खानी खोजिरहेको छ।तर अहिलेसम्म पनि राम्रो खानी नपाएर उद्योग स्थापना गर्न सकेको छैन।ठूला लगानीका क्लिंकरसहितका उद्योग आएपछि सिमेन्टको भाउ पनि सस्तिएको छ।क्लिंकरसहितको उद्योग थपिएका कारण भारतबाट आयात हुन छाडेको छ। होङसी, अर्घाखाँची,आरएमसी लगायतका एक दर्जन उद्योगले क्लिंकर उत्पादन थालेपछि भारतबाट आयात कम भएको हो।अहिले भारत भन्दा नेपालकै क्लिंकर टनमा एक हजार सस्तो छ।
किन विदेशीलाई रोक?
चिनियाँ संयुक्त लगानीमा होङशी शिवम सिमेन्ट आएपछि स्वदेशी उद्योगले समेत क्षमता विस्तार गरे। अहिले क्लिंकरसहितका ठूला लगानीमा स्थापना भएका उद्योग सबैले आफ्नो उत्पादन दोब्बर बनाइसकेका छन्।होङ्सीले अहिले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्छ।दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने र ३६ अर्ब लगानी हुने होङ्सीले दाबी गर्यो।
विदेशी लगानी भनिएको यो उद्योगले नेपालकै बैंकबाट ऋण लगानीको एरेन्जमेन्ट गर्यो।उद्योगीहरुले विदेशी लगानी भनेर स्वदेशकै पूँजी प्रयोग गर्ने गरि होङसीलाई आउन दिएको भन्दै अर्थमन्त्री डा.युवराज खतिवडालाई समेत विफ्रिङ गरेका थिए।उद्योगीका अनुसार स्वदेशी उद्योगीकै लगानीको क्षमता बढेको र उच्च प्रविधिको मेशिनरी ल्याउन समेत कुनै कठिनाई नभएकोले विदेशी लगानी आवश्यक छैन।
अस्वस्थ प्रतिस्पर्धा
सिमेन्ट उद्योग थपिएपछि अस्वस्थ प्रतिस्पर्धा समेत सुरु भएको छ।प्रतिस्पर्धाकै कारण नाफा खुम्चिन थालेपछि सिमेन्टको गुणस्तरमा समेत सम्झौंता हुन थालेको नेपाल गुणस्तर तथा नापतौल विभागले आशंका गरेको छ।
केही दिन अघि चारवटा उद्योगको उत्पादन गुणस्तरहीन रहेको पाइएपछि इजाजतपत्र र बिक्री वितरणमा समेत रोक लगाएको थियो।विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले माग भन्दा बढी आपूर्ति भएर नाफा घट्न थालेपछि गुणस्तरमै सम्झौंता गर्न थालेको आशंका भएको बताए।’प्रतिस्पर्धाका कारण नाफा घट्ने देखिएपछि सिमेन्टको गुणस्तरमा सम्झौंता गरेकोजस्तो आशंका छ। हामीले अब अनुगमन बढाउँछौं’ उनले बिजमाण्डूसँग भने।
निकासी गर्न सहुलियत देऊ
उद्योगीले भारतका सीमावर्ती क्षेत्रमा सिमेन्ट निकासीको सम्भावना रहेको भन्दै केही सहुलियत दिन माग गरेका छन्।उनीहरुले करमा एकरुपता,विजुलीमा अनुदान र कोइलाको सहज आयातको व्यवस्था गरिदिन माग गरे।उनीहरुले अनुदानको कार्यविधिनै बनाएर निकासीका लागि प्रोत्साहन गर्नुपर्ने बताए।
सरकारले समेत सिमेन्टलाई प्रमुख निर्यातयोग्य उद्योग बनाउने घोषणा गरेको छ। तर भारतमा भन्दा सिमेन्ट बोरामै सय रुपैयाँ महँगो छ।सिमेन्ट उद्योगको मूल्यमा फरक पार्ने मूख्य कम्पोनेन्ट चुनढुंगा, विजुली, कोइला र ढुवानी हो। औद्योगिक क्षेत्रले पाउँदै आएको विजुली भारतमा भन्दा नेपालमा महँगो रहेको उद्योगीहरु बताउँछन्।त्योसँगै दक्षिण अफ्रिकाबाट कोइला ल्याउनुपर्ने भएकाले त्यसले समेत सिमेन्ट उत्पादन भारतभन्दा महँगो पर्छ।
सिमेन्ट उत्पादनका लागि चुनढुंगासँगै १६ देखि १८ प्रतिशत कोइला मिसाउनुपर्छ। नेपालका सिमेन्ट उद्योगलार्इ वार्षिक ६० लाख टन क्लिंकर चाहिन्छ भने त्यसको १८ प्रतिशत अर्थात १० लाख ८० हजार टन कोइला चाहिन्छ।
सबै सिमेन्ट उद्योगलाई गरेर अब सरदर मासिक एक लाख टन कोइला चाहिन्छ। तर त्यो कोइला नेपालमा उत्पादन हुँदैन। गुणस्तरीय कोइलाका लागि पुग्नुपर्छ, दक्षिण अफ्रिका।
दक्षिण अफ्रिकादेखि कोइला भारतसम्म ल्याउन जति सहज छ, त्यहाँबाट नेपाल ल्याउन कम्तिमा दश गुणा मेहनत र लगानी पर्न थालेको छ। दक्षिण अफ्रिकाबाट साढे आठ हजार किलोमिटर दूरीमा रहेको भारतमा केही दिनमा आइपुग्ने कोइला हजार किलोमिटरको दुरीमा रहेको नेपाल आइपुग्न ६ महिनाभन्दा बढी लाग्छ। र, त्यही कोइलाका कारण अहिले सिमेन्ट उत्पादन महँगो भएको छ भने सिमेन्ट उद्योगीको झण्डै १० अर्ब रुपैयाँ कोइलाका लागि ‘फ्रिज’ हुन्छ।सिमेन्ट उत्पादक संघका थापाले स्थानीयदेखि केन्द्र सरकारले आफूखुशी कर उठाएकाले सिमेन्ट उत्पादन महँगो भएको बताए। साभार