नेपालगन्ज – सुचना प्रविधिको विकास क्रमसंगै आएको अनलाईन भुक्तानी बिभिन्न बिद्यालयमा संचालन गरिएको छ । यो संगै अब अभिभावकले आफ्ना बालबालिकाको शैक्षिक शुल्क ई सेवा मार्फत भुक्तानी गर्न सक्नेछन । विद्यालयमा अध्ययनरत शिशु कक्षा देखि ब्याचलर तह सम्मका छात्रछात्राहरुको शुल्क अभिभावकहरुले अनलाईन मार्फत भुक्तानी गर्न सकिने ई सेवा सेन्टर बाँकेका प्रमुख महेन्द्र रानाले बताए । साथै उहाँले यो प्रणाली लागु भएसंगै अभिभावकहरुलाई विद्यालयमा आएर आफ्ना बालबालिकाको शैक्षिक शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य भएको समेत बताए ।
अहिले सम्म बाँकेमा अनलाईन भुक्तानी गर्नेमा कोहलपुर मोडेल कलेज, बागेश्वरी एकेडेमी, सिटी कलेज अफ म्यानेजमेन्ट,भृकुटी माध्यामिक बिद्यालय,ब्राइटलाइट कलेजमा संचालन गरिएको अन्य बिद्यालय तथा कलेजहरुमा पनि छिट्टै संचालनमा आउने रानाले बताए ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । मोबाईल एप्स्बाट मात्र इसेवा मार्फत कारोबार गर्नेहरू २० लाख भन्दा बढि पुगेका छन् । यस्तै देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ५५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको ई सेवाले जनाएको छ ।