आगामी बैशाख देखि कोहलपुरबाट गोरखापत्रको प्रकाशन


नेपालगञ्ज – कोहलपुरबाट आगामी २०७७ बैशाख २४ गते देखि गोरखापत्रको पकाशन शुरु हुने भएको छ । कोहलपुर नगरपालिका वडा नं ३ मैटहवा स्थित गोरखापत्र संस्थानको आफ्नै जग्गामा भौतिक संरचना निर्माण गरी छापाखाना समेत सञ्चालनमा ल्याउन लागेको गोरखापत्र संस्थानका कार्याकारी अध्यक्ष कृष्ण मुरारी भण्डारीले जानकारी गराएका छन् ।

विहिबार गोरखापत्र संस्थानका केन्द्रीय कार्यालय काठमान्डौंमा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत सहितको प्रतिनिधिहरुको टोली र गोरखापत्र संस्थानका अध्यक्ष सहित सबै विभागका विभागिय प्रमुखहरुको संयुक्त छलफल यस्तो सहमति भएको कोहलपुर नगरपालिकाका पे्रस सल्लाहकार भीम रावतले जानकारी गराए छलफलमा नगर प्रमुख रावतले स्थानीय सरकारको तर्फबाट गर्नु पर्ने सबै सहयोग गर्न आफुहरु तयार रहेको र संस्थानले पनि आफ्नो कार्यलाई छिटो अगाडि बढाउन आग्रह गरे । रावतले वडा नं ३ का वडा अध्यक्षलाई देखाउदै वडाबाट के सहयोग गर्नु पर्छ त्यसका लागि अध्यक्ष सधै तयार रहने प्रतिवद्धता समेत गरे । संस्थानको तर्फबाट कार्याकारी अध्यक्ष भण्डारीले गोरखापत्र नेपाल सरकारको पूर्ण स्वामित्व रहेको र सरकारको आधिकारिक धारणा, सूचना र विज्ञापन प्रकाशित गर्ने एक मात्र छापा माध्ययम भएकाले यसलाई प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पत्रिका पु¥याउने सेन्टरको रुपमा सञ्चालन गर्न लागेका जानकारी गराए ।

विहिबार संस्थानको केन्द्रीय कार्यालयमा भएको छलफलमा कोहलपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख सहित वडा नं . ३ का वडा अध्यक्ष माधव रिजाल, वडा नं. ८ का वडा अध्यक्ष रेशम बहादुर खत्री र नगरपालिकाका प्रेस सल्लाहकार भीम रावत सहभागी थिए ।  एक वर्ष अघि करिब डेढ करोडको लगानीमा एक विगाह जग्गा किनेको संस्थानले यस वर्ष भौतिक संरचना निर्माणका लागि रु २ करोड रकम विनियोजन गरेको छ ।

प्रकाशित मितिः     ६ भाद्र २०७६, शुक्रबार ०८:२३  |