व्यवसाय विस्तारमा सिद्धार्थ बैङ्क


व्यवसाय विस्तारमा सिद्धार्थ बैङ्क, चालु आवमा २ अर्ब ६१ करोड नाफा गर्ने प्रक्षेपण 

काठमाडौं । सिद्धार्थ बैङ्कले चालु आर्थिक वर्षमा खुदनाफा १३ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष ०७६/०७७ मा सिद्धार्थले २ अर्ब ६० करोड ७१ लाख रुपैयाँ खुदनाफा हुने अनुमान गरेको छ । गत आर्थिक वर्ष ०७५/०७६ मा  सिद्धार्थले २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको थियो  । अघिल्लो वर्षको सोही अवधिमा सिद्धार्थको नाफा १ अर्ब ९० करोड ४० लाख रुपैयाँ थियो ।

बैङ्कले ऋणपत्र (डिवेञ्चर) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा चालु आर्थिक वर्षमा नाफा २९ करोड ८३ लाख रुपैयाँ बढ्ने प्रक्षेपण  गरेको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ मा नाफा १८ प्रतिशत बढेर ३ अर्ब ६ करोड ५५ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । आगामी वर्ष नाफा ४५ करोड ८३ लाख रुपैयाँ थप हुने अनुमान बैङ्कको छ ।

यस्तै आर्थिक वर्ष ०७८/०७९ मा पनि १८ प्रतिशत बढेर खुदनाफा ३ अर्ब ६१ करोड ५१ लाख रुपैयाँ पुग्ने अनुमान सिद्धार्थको छ । आगामी आर्थिक वर्षको तुलनामा आव ०७८/०७९ मा नाफा ५४ करोड ८० लाख रुपैयाँ नाफा बढाउने लक्ष्य लिएको छ ।

यो वर्ष सिद्धार्थले ५ अर्ब २८ करोड, आगामी वर्ष ६ अर्ब ३८ करोड र तेस्रो वर्ष ७ अर्ब ६७ करोड रुपैयाँ  खुदब्याज आम्दानी गर्ने अनुमान छ । बैङ्कको ब्याजदर आम्दानी औसत १२.४४ प्रतिशत रहेको छ ।

नाफा बढेपछि बैङकको प्रतिसेयर आम्दानी पनि बढ्ने छ । यो वर्ष प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३३ पैसा, आगामी वर्ष ३४ रुपैयाँ ४९ र ३ वर्षमा ४० रुपैयाँ ६८ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १९९, आगामी वर्ष २३४ र तेस्रो वर्ष २७४ रुपैयाँ पुग्ने अनुमान छ ।

चालु आर्थिक वर्षमा निक्षेप २०.११ प्रतिशत बढेर १ खर्ब ६५ अर्ब ३२ करोड, आगामी वर्ष २०.४८ प्रतिशत बढेर १ खर्ब ६३ अर्ब २४ करोड र ३ वर्षमा १८.६८ प्रतिशत बढेर १ खर्ब ९३ अर्ब ३६ करोड रुपैयाँ पुग्ने अनुमान बैङ्कको छ ।

यो वर्ष कर्जा सापटी २३.१९ प्रतिशत बढेर १ खर्ब ३५ अर्ब ६२ करोड, आगामी वर्ष २० प्रतिशत बढेर १ खर्ब ५३ अर्ब ५२ करोड र ३ वर्षमा १ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । विगत दुई आर्थिक वर्षमा बैङ्कको निक्षेप तर्फ औसत २६.०१ प्रतिशत तथा कर्जा लगानीतर्फ २७.०८ प्रतिशको वृद्धि भएको छ ।

अघिल्लो आवमा रहेको अत्याधिक तरलताको चाप आगामी बर्षहरुमा सहज हुने अनुमान सिद्धार्थको छ । प्रक्षेपित विवरण तयार पार्दा आगामी तीन आर्थिक वर्षमा निक्षेप तर्फ १९.७६ प्रतिशत र कर्जा लगानी २०.४३ प्रतिशत औसत वृद्धिलाई आधार बनाएको छ ।

बैङ्कले गत आर्थिक वर्षमा विस्तार गरेको नयाँ शाखाहरु सञ्चालनमा आइसकेकोले आगामी तीन वर्षमा अनुमान गरिएको सञ्चालन आम्दानी तथा मुनाफा सजिलै प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको बैङ्कले जनाएको छ  ।

सिद्धार्थले आगामी आर्थिक वर्षहरुमा आफ्नो आन्तरिक नियन्त्रण कार्य प्रणालीलाई थप चुस्त बनाउने र ऋण असुलीलाई प्राथमिकताका साथ अघि बढाउने रणनीति अपनाएको छ ।

प्रक्षेपित वित्तीय विवरण बैङ्क आफैंले आफ्नो दीर्घकालिन रणनीति अनुरुपतयार पारेको हो । सिद्धार्थले आफ्नो प्रक्षेपित खुद नाफा तथा पूँजीमा उच्च प्रतिफल दिन सक्षम रहने जानकारी दिएको छ । विगतका वर्षहरुको कारोबारको वृद्धि, बैङ्कले गरेको आम्दानी, भावी योजनाहरु, चालु वर्षको प्रगति, नेपाल राष्ट्र बैङ्कले तोकेको मापदण्ड तथा सरकारद्वारा प्रक्षेपित वित्तीय आँकडाको आधारमा प्रक्षेपित वित्तीय विवरण तयार गरेको सिद्धार्थले स्पष्टपारेको छ ।

चालु आर्थिक वर्षमा बैङकको जगेडा कोष ८ अर्ब ८८ करोड, आगामी वर्ष ११ अर्ब ९२ करोड र तेस्रो वर्षमा १५ अर्ब ५० करोड रुपैयाँ पुग्ने प्रक्षेपण बैङ्कको छ ।
२५० करोडको ऋणपत्र निष्कासन 

सिद्धार्थले लगानीयोग्य पुँजी जुटाउन भदौ ५ गतेदेखि ऋणपत्र निष्कासन गरेको छ । सिद्धार्थले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

ऋणपत्र निष्कासन बन्द छिटोमा भदौ ९ र ढिलोमा असोज ५ गते हुने सिद्धार्थले जनाएको छ । सिद्धार्थले वार्षिक १०.२५ प्रतिशत ऋणपत्रमा ब्याज दिने जानकारी दिएको छ । कुल निष्कासन मध्ये १ अर्ब रुपैयाँ सर्वसाधारण र १ अर्ब ५० करोड रुपैयाँ संस्थापक लगानीकर्तालाई छुट्टाइएको छ ।

राष्ट्र बैङ्कले चालु आर्थिक वर्षदेखि कुल पुँजीको २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था ल्याएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्रबाट संकलन हुने मध्ये २ अर्ब रुपैयाँ कर्जासापटी र ५० करोड शाखा विस्तार र अन्य काममा लगानी गर्ने बैङ्कले जनाएको छ ।

प्रकाशित मितिः     ७ भाद्र २०७६, शनिबार १३:११  |