कम्पनी सम्बन्धी सामान्य जानकारी


१ कम्पनी
कम्पनी उद्यम व्यवसाय संचालन गर्ने एउटा कानूनी मान्यता प्राप्त संरचना हो । उद्योग व्यवसाय संचालन गर्न चाहने व्यक्ति वा समूहले कम्पनी ऐन, २०६३ अनुसार प्राइभेट लिमिटेड, पब्लिक लिमिटेड, मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा अविच्छिन्न उत्तराधिकारवाला स्वशासित, संगठित संस्था संस्थापना गर्न सक्दछन् । यस्ता कम्पनीले व्यक्ति सरह चल–अचल सम्पति प्राप्त गर्न, बेचविखन गर्न, अन्य व्यवस्था गर्न सक्दछन् । साथै कम्पनीले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्ने, करार गर्ने र करारबमोजिम अधिकार प्राप्त गर्ने समेत दायित्व निर्वाह गर्न सक्छन् र कम्पनी उपर पनि नालिस उजुर लाग्न सक्छ । कम्पनी दर्ता भए पश्चात मात्र कम्पनी संस्थापना भएको मानिन्छ ।

२ कम्पनी दर्ता किन ?
वैध रुपमा सिमित दायित्व सहित उद्यम व्यवसाय संचालन गर्न, कानूनी संरक्षण र पहिचान सहित व्यवसायिक निरन्तरता तथा व्यवसायिक नाम सुरक्षित राख्न, कर र वित्तिय सुविधामा पहुच प्राप्त गरी राष्ट्र समृद्धिमा योगदान गर्न कम्पनी दर्ता गरिन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरे पश्चात कम्पनीको दर्ता प्रमाणपत्र प्राप्त हुन्छ ।

३ कम्पनी रजिष्ट्रारको कार्यालय

उद्योग मन्त्रालय अन्तर्गत वि.स. २०४९ साल माघ महिनामा स्थापित कम्पनी रजिष्ट्रारको कार्यालय विभागस्तरीय कार्यालय हो । यसको स्थापना अगाडि कम्पनी प्रशासन सम्बन्धी कार्यहरु घरेलु तथा साना उद्योग विभाग, कृषि विभाग, वाणिज्य विभाग, उद्योग विभाग लगायतबाट हुँदै आएको थियो । कम्पनी ऐनको इतिहास हेर्दा कम्पनी ऐन, १९९३, कम्पनी ऐन, २००७, कम्पनी ऐन, २०२१, कम्पनी ऐन, २०५३ कम्पनी अध्यादेश, २०६२ हुदै हाल कम्पनी ऐन, २०६३ कार्यान्वयनमा रहेको छ । कम्पनी ऐनको प्रभावकारी कार्यान्वयन र कम्पनी प्रशासन सम्बन्धी काम कारवाहीहरु समान र एकै किसिमले एउटै निकायवाट सम्पादन गर्न यस कार्यालयको स्थापना भएको हो । एकमात्र कार्यालय रहेको कम्पनी रजिष्ट्रारको कार्यालयको कार्यक्षेत्र नेपालभर रहेको छ ।

४ कार्यालय संचालनका आधारहरु

नेपालको संविधान, कम्पनी ऐन, २०६३, दामासाही ऐन, २०६३, दामासाही नियमावली, २०६४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९, कम्पनी (विद्युतीय फाइलिङ्ग) निर्देशिका, २०६९, कम्पनी निर्देशिका, २०७२, लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यबिधि, २०७३ र अन्य सम्वद्ध ऐन, कानून, नियमावली र कार्यविधिहरु ।

५ कार्यालयबाट प्रदान गरिने सेवाहरु

कम्पनीको नाम स्वीकृत गर्ने, कम्पनी दर्ता गर्ने, प्रबन्धपत्र र नियमावलीको संशोधन सम्बन्धी कार्यहरु (नाम, ठेगाना परिवर्तन, कम्पनीको उद्देश्य थप÷संशोधन, पुँजी वृद्धि÷ पुँजी संरचना परिवर्तन, शाखा कार्यालय थप÷हेरफेर) को अभिलेख गर्ने, प्रबन्धपत्र, नियमावलीको ढाँचा परिवर्तनको अभिलेख गर्ने, कम्पनीको किसिम परिवर्तन (प.लि. बाट प्रा.लि. वा प्रा.लि. बाट प.लि.), कम्पनीलाई एकलबाट बहुलमा परिवर्तन गर्न सहमति दिने, कम्पनीको दर्ता खारेजी, सञ्चालक समितिको गठन÷पुनर्गठनको अभिलेख, कम्पनी गाभ्ने कार्य, वार्षिक विवरण अध्यावधिक गराउने, शुरु शेयर बाँडफाँडको लागत राखिदिने, शेयर खरिद बिक्रि थप शेयर बिक्री, मृत्युपछिको शेयर नामसारीको अभिलेख राख्ने, कैफियत तलबको जवाफ माग गर्ने, आवधिक जानकारीहरु÷सूचना उपलब्ध गराउने, मन्त्रालय र अन्य निकायहरुबाट राय विवरण माग भएमा उपलब्ध गराउने, दामासाही ऐन, २०६३ र नियमावली, २०६४ बमोजिमका कार्यहरु गर्ने र तोकिएका अन्य कार्यहरु गर्ने ।

६. कम्पनीका प्रकार


कम्पनी ऐन, २०६३ वमोजिम कम्पनीका प्रकार देहाय बमोजिम रहेका छन् ः

६.१ पब्लिक लिमिटेड

कम्पनी पब्लिक लिमिटेड कम्पनीको लागि न्युनतम ७ जना संस्थापक र कम्तिमा रु.१ करोड चुक्ता पुँजी हुनु अनिवार्य हुन्छ । यस्ता कम्पनीमा ३ जनादेखि ११ जनासम्म संचालक रहन सक्ने व्यवस्था छ । बैंकिङ्ग तथा वित्तीय कारोबार, विमा व्यवसाय, धितोपत्र बजार सम्बन्धी व्यवसाय, सामूहिक बचत कोष संचालन गर्ने र दुरसञ्चार सेवा प्रदायक कम्पनीहरु अनिवार्य रुपमा पब्लिक कम्पनी हुनुपर्ने व्यवस्था छ । पब्लिक लिमिटेड कम्पनीमा जतिपनि संख्यामा शेयरधनी हुन सक्दछन् । पब्लिक लिमिटेड कम्पनीहरुले सर्वसाधारणलाई अनिवार्यरुपमा शेयर जारी गर्नुपर्ने हुन्छ । संस्थापना भएका पब्लिक लिमिटेड कम्पनीले कारोवार सुरु गर्नुपूर्व कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनिवार्य रुपमा स्वीकृती लिनुपर्दछ ।

६.२ प्राइभेट लिमिटेड कम्पनी बढिमा १०१ जनासम्म शेयर सदस्य रहेको कम्पनी प्राइभेट लिमिटेड कम्पनी हुन् । प्राइभेट लिमिटेड कम्पनीले शेयर तथा डिवेन्चर खुल्लारुपमा बिक्री गर्न पाउँदैनन् । प्राइभेट लिमिटेड कम्पनी एकल प्रा.लि. एकल स्वामित्व (एकमात्र संस्थापक÷शेयरधनी सदस्य) रहेको र बहुल प्रा.लि., एकजना भन्दा बढि १०१ जनासम्म शेयर सदस्य रहेको गरी दुई प्रकारका हुन्छन् । एकल प्रा.लि.मा साधारण सभा गर्न अनिवार्य हुदैन ।

६.३ मुनाफा वितरण नगर्ने कम्पनी कुनै पेशा वा व्यवसायको विकास तथा प्रवद्र्धन गर्न वा कुनै खास पेशा वा व्यवसायमा लागेका व्यक्तिहरुको सामूहिक हक–हितको संरक्षण गर्न वा कुनै शैक्षिक, प्राज्ञिक, सामाजिक, परोपकारी वा सार्बजनिक उपयोगिता वा कल्याणकारी उद्देश्य प्राप्तिका लागि लाभांश बाँडी लिन नपाउने शर्तमा स्थापना हुने कम्पनी नै मुनाफा वितरण नगर्ने कम्पनी हुन् । यस्ता कम्पनीका संस्थापक सदस्यहरु कम्तिमा पाँच जना र बढीमा जतिसुकै हुनसक्ने व्यवस्था छ । यस्तो कम्पनी संस्थापना गर्न शेयर पूँजी आवश्यक पर्दैन र यस्ता कम्पनी मूनाफा वितरण गर्ने कम्पनीमा गाभिन सक्देनन् । तर मुनाफा आर्जन गर्न भने सक्दछन् ।

६.४ विदेशी कम्पनी नेपाल राज्य बाहिर संस्थापित कम्पनी विदेशी कम्पनी हुन् । जसले नेपाल राज्यभित्र काम गर्नको लागि कुनै विदेशी कम्पनी वा प्रचलित कानून वमोजिम अधिकार प्राप्त कुनै निकायवाट स्वीकृत लिनु पर्ने भए स्वीकृती लिई छनौट भएका वा कुनै निकायसँग करार गरेका हुन्छन् । यस्ता कम्पनीले नेपालमा शाखा खोली करार बमोजिम आफ्नो रजिष्टर्ड कार्यालय रहेको वा संस्थापना भएको मुलुकमा जुन प्रकारको व्यवसाय वा कारोबार गरिरहेको छ सोही प्रकृतिको व्यवसाय वा कारोबारमात्र गर्न पाउने व्यवस्था छ ।

प्रकाशित मितिः     7:24:42 AM  |