मेगा बैंकको डेढ करोड रुपैयाँसम्म बीमा सुविधा भएको नयाँ बचत खाता, न्युनतम मौज्दात १० हजार


काठमाडौं। मेगा बैंक नेपालले नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना ल्याएको हो। बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले खातावाल तथा श्रीमान–श्रीमती लगायत दुई जना सन्तानका लागि खाता खोल्न मिल्ने योजना ल्याएको जनाएको छ।

खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीन वटा विकल्पहरु राखिएको छ। तीन फरक योजनाहरुमध्ये आफूलाई उपयुक्त योजना छनौट गर्न सकिनेछ। यसबाट दुर्घटना मृत्यु बिमा, घातक रोग बिमा र उपचार खर्च समेत गरी एक परिवारका लागि डेढ करोड रुपैयाँसम्मको बीमा सुरक्षा ब्यवस्था गरिएको छ। यो खाता खासगरि निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगारमुलक व्यवसाय गरिरहेका सर्वसाधारण व्यवसायी, बिभिन्न पेशा व्यावसायमा आबद्ध व्यक्तित्वहरुलाई उपयुक्त हुने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।

बैंककी सिइओ अनुपमा खुञ्जेलीले खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० प्रतिशतदेखि शत प्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताइन्। बैंकले यसअघि नै न्यूनतम मौज्दात एक हजारदेखि बिमा सुविधासहितको बचत योजना पनि उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मितिः     ११ भाद्र २०७६, बुधबार १९:४५  |