भार्गव विकास बैंकद्धारा गरिब र अनाथ मुस्लिम विद्यार्थिलाई खाद्यान्न सहयोग


नेपालगञ्ज, १३ भदौ । नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको भार्गव विकास बैंकले आफ्नो १३ औं बार्षिकोत्सवको अवसर पारेर मुस्लिम समुदायका गरिब र अनाथ बिद्यार्थिलाई शुक्रवार यहाँ खाद्यान्न वितरण गरेको छ ।
बैंकले नेपालगन्जमा रहेको मदरसा दारुलउलुम बरकातिया माध्यामिक बिद्यालयमा अध्ययनरत गरिब र अनाथ ८० जना विद्यार्थिहरुका लागि खाद्यान्न सहयोग गरेको हो ।
बैंकको संचालक समितिका अध्यक्ष डम्बर बहादुर थापाले मदरसाका संंस्थापक मौलाना अब्दुल जब्बार मन्जरीलाई सो खाद्यान्न हस्तान्तरण गर्नुभयो । बैंकले मदरसामै आवासिय रुपमा अध्ययन गरिरहेका गरिब र अनाथ बालकहरुका लागि १५ क्विन्टल चामल, २५ किलो दाल र २० लिटर खाने तेल उपलब्ध गराएको छ ।
सो अवसरमा बोल्दै बैंकको संचालक समितिका अध्यक्ष थापाले बैंकको सामाजिक दायीत्व अन्तर्गत समय समयमा समाजका विभिन्न खाले गरिब, अनाथ र पिडितहरुलाई सहयोग गर्र्दै आएको बताउनु भयो ।
उहाँले यस्ता सहयोगले अरुलाई पनि सहयोग गर्न प्रेरित गर्ने र आवश्यकता भएकाले सहयोग समेत पाउने हुँदा यसको निकै महत्व रहेको बताउनु भयो ।
सोही अवसरमा बोल्दै भार्गव विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले मुस्लिम समुदायका गरिब र अनाथ विद्यार्थिलाई खाद्यान्न सहयोग गर्न पाउँदा बैंक परिवार गौरवान्वित भएको बताउनु भयो ।
उहाँले यसअघि पनि बाँकेमा धेरै ठाउँमा धेरै पटक बैंकले आवश्यकता भएकाहरुलाई सहयोग गरेको स्मरण गर्नुभयो ।
मदरसा दारुलउलुम बरकातिया माध्यामिक बिद्यालयका संस्थापक मौलाना मौलाना अब्दुल जब्बार मन्जरीले मदरसामा आवासीय रुपमा शिक्षा ग्रहण गरिरहेका गरिब, अनाथ र असहाय विद्यार्थिलाई सहयोग गरेर ठुलो गुन लगाएको बताउनु भयो ।


उहाँले कुनै पनि धार्मिक, सामाजिक र भौगोलिक भेदभाव विना बैंकले अनाथ र गरिबलाई खाद्यान्न सहयोग गरेर महान कार्य गरेको पनि बताउनु भयो ।
मुस्लिम समुदायले दिएको दान र चन्दाबाट ती विद्यार्थिहरुको खानपिन र रहनसहनको व्यवस्थापन भेरहेको जनाउँदै मौलाना मन्जरीले बैैंकले गरेको सहयोगबाट मदरसालाई धेरै राहात मिलेको बताउनु भयो ।
सो अवसरमा भार्गव विकास बैंकका संस्थापक हेमराज भण्डारी, संचालकहरु कान्ति सिंजापति भण्डारी र कृष्ण प्रसाद बास्कोटा, मदरसा दारुलउलुम बरकातिया माध्यामिक बिद्यालयका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा, संचालक समितिका पदाधिकारी र अभिभावक, शिक्षक तथा बैंकका वरिष्ठ कर्मचारी लगायत पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः     १३ भाद्र २०७६, शुक्रबार २०:४३  |