व्यवसायमा मेरो बुबा, मेरो गुरु


अन्जन श्रेष्ठ /क्यापिटल नेपालबाट
मेरा लागि त बुबा गुरु हो । अँध्यारोबाट उज्यालोमा लैजानका लागि बुबाकै योगदान छ । सानामा र युवा अवस्थामा कुन बाटो जाने भनेर अलमलिएको अवस्थामा बुबाले नै सही बाटो देखाइदिनुभएको हो । सक्षम नागरिक बनाउन उहाँको अतुलनीय भूमिका छ ।

जति पनि मैले गरेको छु, या हामी भाइहरु मिलेर गरेका छौं, ती सबैमा बुबाको हात छ । व्यवसायमा बुबाको फाउन्डेसन नै बलियो थियो । त्यही फाउन्डेसनमा टेकेर हामीले व्यवसायको दायरा फराकिलो बनाएका मात्र हौं ।

बुबाले अझै पनि उत्साह, उमङ्ग भरिदिनुहुन्छ । कहिलेकाहीँ कुनै विषयमा तनाव भयो भने बुबाले नै ऊर्जा दिने गर्नुहुन्छ । अझै पनि केही असहज भैहाल्यो भने ‘बुबा हुनुहुन्छ’ भन्ने आशा र भरोसा हामीमा छ । बुबाकै कारण कन्फिडेन्स पनि बढी नै छ ।

नयाँ व्यवसाय सुरु गर्दा वा नयाँ काम थालनी गर्दा उहाँले नै धेरै सुझाव दिनुभएको छ । उहाँकै निर्देशनमा काम गर्दा हामीले त्यस्तो कुनै असफलता व्योहोर्नु परेको छैन ।

प्रबलजङ्ग पाण्डे 
जसलाई पनि बुबा सर्वाधिक प्रिय लाग्छ । मेरो जीवनमा पनि बुबा मेरो प्रिय पात्र हो । उहाँ रोलमोडल हो । हरेक अप्ठेरो परिस्थितिमा विचलित नभई एकनासले डटी रहने बुबाको बानी छ । उहाँले जीवनमा सङ्घर्ष र परिश्रमबाहेक केही गर्नुभएको छैन । त्यही कुरा हामीलाई उहाँले सिकाउनुहुन्छ ।

उहाँले हामीलाई सानैदेखि परिश्रम र सङ्घर्ष गर्न सिकाउनुभयो । अहिले पनि उहाँले व्यवसायमा दिनुपर्ने सुझाव, निर्देशन र एउटा छोरालाई दिनुपर्ने मार्गदर्शन दिई नै रहनुभएको छ ।

व्यवसायमा उहाँको आफ्नै सूत्र र आफ्नै धार छ । त्यही सूत्रका कारण उहाँले सञ्चालन गरेका कुनै पनि परियोजनामा असफलता व्योहर्नु परेको छैन । उद्योगका हरेक कामदार कर्मचारी तथा पक्षसँग निरन्तर प्रत्यक्ष सम्पर्कमा रहने गर्नुहुन्छ । घर र व्यवसायलाई दिनुपर्ने समय उहाँले दिई नै रहनुभएको छ । मैले थाहा पाएदेखि उहाँ अफिस नगएर घरमै बसेको देखेको छैन ।

हामी बरु अहिले ४५/४६ वर्षमा नै कति परिश्रम गर्ने भन्ने सोच्न थाल्छौं, तर उहाँले यो उमेरमा पनि त्यस्तो कहिले सोचेको अनुभव हामीलाई दिनुभएन । मानिसहरु कोही न कोही मोटिभेसनल व्यक्तित्वको किताब पढ्ने र क्लास लिने गर्छन्, तर म भाग्यमानी छु ।

मैले मेरो बुबाका मान्यतालाई आत्मसात गरी उहाँले नै देखाएको बाटोमा हिँड्न सकेर उहाँले प्राप्त गरेको सफलताको १० प्रतिशत मात्र प्राप्त गर्न सकें भने पनि मेरो जीवन सफल भएको ठान्दछु ।

करण चौधरी
जीवनमा परिवारको महत्त्व अत्यधिक हुन्छ नै । परिवारका सदस्यको पनि आआफ्नो भूमिका हुन्छ । बुबा मलाई मार्गनिर्देशन दिने गुरु हो । आज म जुन अवस्थामा छु, त्यो विशुद्ध मेरो बुबाको कारणले हो । बुबाको साथ जसरी बाल्यकालमा थियो अझै पनि त्यस्तै छ मलाई । त्यसैले अहिले म बुबाले नै स्थापना गरेका व्यवसाय सम्हालिरहेको छु । ती व्यवसायलाई अझ फराकिलो दायरामा लैजानका लागि योजना बनाएर बुबालाई दिने गर्छु । ती योजना बुबाले पूरा गरिदिनुहुन्छ ।

मलाई बुबासँग डर पनि लाग्छ । अभिभावक भएपछि आफू सम्हालिएर काम गर्नुपर्छ भन्ने जिम्मेवारी बोध हुन्छ । र, अझ बढी भरोसा जाग्छ, कि मेरो पछाडि मेरा बुबा हुनुहुन्छ ।

बुबासँग बाल्यकालदेखि नै मैले थुप्रै कुरा सिकिरहेको छु । देखेको भगवान उहाँ नै हो । सिकाउने पहिलो गुरु नै उहाँ हो । औंला समातेर हिँड्न सिकाउने उहाँले अहिले मलाई जीवनलाई कुन लयमा लैजाने त्यो कला सिकाइरहनुभएको छ ।

अक्षय गोल्यान 
सबैका लागि सबैको बुबा प्रेरणाका स्रोत हुन् । मेरो बुबा पनि मेरा लागि प्रेरणाको स्रोत हुनुहुन्छ । बच्चादेखि किशोरावस्था र अहिलेसम्म बुबाको माया, ममता र प्रेरणाले ममा ऊर्जा भरिएको छ । उहाँले आफ्नो जीवनभर मलाई सधैं मोटिभेसनल गराइराख्नु भयो । अहिले म उहाँले देखाएको पथमा नै हिँडिरहेको छु ।

बुबाले सुरु गर्नुभएको रियलइस्टेट, कृषि, बैङ्किङलगायत अन्य विभिन्न उद्योगहरुमध्ये केही अहिले म हेर्छु । तर, उहाँले मलाई हरहमेसा पछाडिबाट साथ दिइराख्नुभएको छ । व्यवसायमा बुबा र म साथीसाथी जस्तै हौं । हामी सँगसँगै बसेर धेरै योजना बनाएका छौं । कतिपय कुरामा मैले पनि बुबालाई गाइड गर्छु ।

उहाँले त मलाई सधैं गाइड नै गरिराख्नुभएको छ । मैले आफूलाई लागेको सुझाव र राय राख्दा बुबाले जहिले पनि त्यसमा सकारात्मक भूमिका निर्वाह गर्नुभएको छ ।

प्रकाशित मितिः     १४ भाद्र २०७६, शनिबार १३:५४  |