काठमाडौं। सरकारले यातायात संघ/समितिको बैंक खाता फुकुवा गरिदिएको छ। साउन १६ गते बसेको मन्त्रीपरिषदको बैठकले कम्पनीमा रुपान्तरण भएका यातायात व्यवसायी समितिको बैंक खातामा रहेको रकम रुपान्तरित कम्पनीमा सार्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवम संचारमन्त्री गोकुल बास्कोटाले रकम सार्न दिने निर्णय भएको पुष्टी गरेका छन्। यातायात व्यवस्था विभागले २०७४ चैत १८ गते यातायात व्यवस्थापन कार्यविधी निर्देशिका संशोधन गर्दै सार्वजनिक यातयातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गरेको थियो। व्यवसायीहरुले कम्पनीमा जान विभागले सर्कुलर जारी गरेपछि खाताबाट ठूलो रकम निकाल्न थालेपछि २०७५ वैशाख १२ गते बैंक खाता रोक्का गरिएको थियो। कम्पनीमा जान अटेर गरेको भन्दै करिव २ सय ५० समितिका खाताहरु रोक्का गरिएको थियो।
यातयात व्यवसायीहरुले सुरुदेखि नै बैंक खाता खोलिदिनका लागि माग गर्दै आएका थिए। बैंक खाता रोक्का हुँदा दुर्घटना बिमा, घाईतेको उपचार गर्न नसकिएको, कर्मचारीलाई तलव खुवाउन नसकिएको भन्दै फुकुवा गर्न माग गर्दै आएका थिए।
यातायात व्यवस्था विभागका एक अधिकारीका अनुसार संघ/समिति खारेज गरिएका कारण चल अचल सम्पत्ती स्वत: सरकारको हुन्छ। तर मन्त्रीपरिषदले निर्णय गरिदिए कम्पनीमा रुपान्तरण हुनेछ। व्यवसायीप्रति लचिलो बन्दै सहुलियत दिएपछि संघ समितिहरु धमाधम कम्पनीमा रुपान्तरण भैरहेका छन्। अधिकांश कम्पनीमा रुपान्तरण भएर पंजीकरणका लागि आईरहेको विभागले जनाएको छ।