नेपालगञ्ज -दुईबर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गर्नुभएको थियो । मेयरमा निर्वाचित भएको दुईबर्षमा डा. राणाले सम्पूर्ण तलबभत्ता गरि १० लाख बढि रुपिया सामाजिक कार्यमा खर्च गर्नुभएको छ । डा. राणाले क्यान्सर लगायत गम्भिर खालको रोगका विरामीको उपचार, गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग तथा विभिन्न सामाजिक सङ्घ संस्थालाई मासिक तलबभत्ता गरि ५० हजार रुपिया वितरण गर्दै आउनुभएको छ ।
उहाँले हालसम्म विश्वकर्मा मन्दिर, सत्य निंरकारी मण्डल, मानव धर्म सेवा, निल सागर बृद्धाश्रम, ब्रहमाकुमारी इश्वरीय विश्व विद्यालयलाई सहयोग गर्नुभएको छ । यसैगरी एमबिबिएस अध्ययनरत खजुराकी प्रतिमा शर्मासहित अन्य३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग गर्नुभएको छ । यसैगरी तीनजना क्यान्सर रोग लागेका विरामीलाई डा. राणाले तलबभत्ता सहयोग गर्नुभएको छ ।
राणा दुई दशकअघि नेपालगञ्ज नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि पाँचबर्षसम्म तलबभत्ता सामाजिक कार्यमा खर्च गर्नुभयो । दुईदशकपछि फेरी नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि डा. राणाले पहिलो कार्यकाललाई अनुशरण गर्दै तलबभत्ता सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ । पहिलो कार्यकालमा राणाले महिलालाई धोती वितरण गर्नुभएको थियो भने भेरी अस्पतालमा प्रतिक्षालय निर्माण गर्नुभएको छ ।
जनताको सेवा गर्नका लागि सरकारबाट पैशा लिनु हुदैन भन्ने मेरो मान्यता रहेको छ, डा. राणाले भन्नुभयो,– नेताहरु भ्रष्ट हुन्छन भन्ने बुझाईलाई तोड्न आवश्यक छ ।