कुल नाफाको आधा तीन महिनामै कमायो कृषि विकास बैंकले, ४३५ करोड नाफा


काठमाडौं। कृषि विकास बैंकले गत आर्थिक बर्ष चार अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो बर्षको तुलनामा १९.१५ प्रतिशतले सुधार भएको हो।
अघिल्लो बर्ष बैंकको नाफा तीन अर्ब ६५ करोड रुपैयाँ थियो। बैंकले चौथो त्रैमाशमा मात्रै दुई अर्ब १४ करोड रुपैयाँ नाफा गरेको छ। चौथो त्रैमाशको नाफा कुल नाफाको ४९ प्रतिशत हो। खुद व्याज आम्दानी ७.६१ प्रतिशतले सुधार गर्दै ७ अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेको छ। व्याज आम्दानी १५ अर्ब २३ करोड रुपैयाँ छ भने व्याज खर्च ७ अर्ब ८६ करोड रुपैयाँ छ।

बैंकले १४ प्रतिशतले निक्षेप बढाउँदा ११ प्रतिशतले ऋण लगानी विस्तार गरेको छ। बैंकले गत आर्थिक वर्षमा एक खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १० अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। त्यस्तै अघिल्लो वर्षमा एक खर्ब चार अर्ब निक्षेप संकलन गरि ९९ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो। चुक्ता पूँजी १४ अर्ब ४४ करोड रुपैयाँ छ भने जगेडा कोषमा १० अर्ब ४० करोड रुपैयाँ जम्मा गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको स्प्रेडदर कायम गर्ने क्रममा बैंकले अघिल्लो वर्षको भन्दा ०.७८ प्रतिशत विन्दुले घटाएको छ। बैंकले ५.४६ प्रतिशतको स्प्रेडदर ४.६८ प्रतिशतमा झारे पनि नेपाल राष्ट्र बैंकको नियम अनुसार ४.५ प्रतिशतमा झार्न भने सकेन।

बैंकले खराव कर्जा घटाउने क्रममा नाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ। बैंकले खराब कर्जा ३.४१ प्रतिशतबाट २.९० प्रतिशतमा झारेको हो। आधार व्याजदर ११.७३ प्रतिशतबाट १०.५८ प्रतिशतमा झारेको छ। प्रतिशेयर आम्दानी ४४ रुपैयाँ रहेको छ।

प्रकाशित मितिः     २१ श्रावण २०७६, मंगलवार १२:३५  |