हिल्सा–जमुनाह सडकको लम्बाइ घट्यो


सुर्खेत । कर्णाली कोरिडोरको हिल्सा–जमुनाह सडक खण्डको लम्बाइ घट्ने भएको छ । कालीकोटको खुलालुबाट बाजुराको लैफु हुँदै हुम्लाको सलीसल्लासम्म सडक बनाउने जिम्मा पाएको नेपाली सेनाको सर्भेले यो सडकको लम्बाइ घटेको देखाएको हो । यसअघि सडक विभागले हिल्सा–जमुनाह खण्डको लम्बाइ ५३० किलोमिटर निर्धारण गरेको थियो । तर अब घटेर ५०८ किलोमिटरमा सीमित भएको छ ।

सडक विभागले गरेको सर्भे प्रतिवेदनमा उल्लेख भएको १४५ किलोमिटर सडक सेनाले निर्माण गरेसँगै २२ किलोमिटर छोटिएको सडक निर्माण कार्यदलका प्रमुख सेनानी ई. मिलन कार्कीले बताए । हुम्ला खण्डको कवाडीबाट सलिसल्लासम्म यसअघि ६१ किलोमिटर रहेकोमा अब ३९ किलोमिटर हुने भएको छ । नेपाली सेनाले कालीकोट र बाजुरामा पर्ने ८४ किलोमिटर सडक बनाएर सञ्चालनमा ल्याइसकेको छ ।

सेनाले अप्ठ्यारो र चट्टानी भागमा पनि सीधा सर्भे लिएर बनाएकाले सडकको लम्बाइ घटेको प्रमुख सेनानी कार्कीले बताए । यसअघि सडक विभागले सजिलो र चट्टानी भाग छलेर सर्भे गरेको हुन सक्ने उनको अनुमान छ ।

फर्कंदै नेपाली सेना
यता, नेपाली सेनाले जाजरकोट–दुनै सडकको ट्र्याक खोल्ने काम सकेर सडक विभागलाई हस्तान्तरणको तयारी गरेको छ । तोकिएको जिम्मेवारी पूरा भएपछि सेना फर्कन थालेको सडक निर्माण कार्यदलका संयोजक तथा नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए । डोल्पा सदरमुकाम दुनैलाई गत मङ्सिरमा सडकको राष्ट्रिय सञ्जालमा जोडेपछि सेनाको सबै जिम्मेवारी पूरा भएको  उनले जानकारी दिए । आव २०६५–६६ सालसम्म जाजरकोट–दुनै सडक रेखांकन विवादले काम रोकिए पनि २०६७ सालपछि निर्माण तीव्र पारिएको थियो । ‘कठिन भूगोल र विषम परिस्थितिका कारण सरकारले सल्यानको सल्लीबजार हुँदै जाजरकोट–दुनै सडकको निर्माण गर्ने जिम्मा सेनालाई दिएको हो,’ पहाडीले भने, ‘सडक सम्पन्न हुँदा सरकारले दिएको जिम्मेवारी र स्थानीयको वर्षौंदेखिको मोटर चढ्ने चाहना पूरा भएको छ ।’ ट्र्याक खोल्ने काम सम्पन्न भइसकेपछि अब सडकलाई कालोपत्र गर्न र करीब १ दर्जन स्थानमा पुल बनाउन बाँकी छ । यसका लागि सडक विभागले पहल गर्ने बताइएको छ । उक्त सडकको जाजरकोटमा ४६ दशमलव ७, डोल्पामा ४० दशमलव ५ र रुकुममा ३० दशमलव ५ किलोमिटर पर्छ । सेनाले एउटै सडकखण्डमा सबैभन्दा लामो समय बिताएको यो नै पहिलो हो ।

सडकको रणनीतिक महत्त्व 
डोल्पा सदरमुकाम दुनै सडकको राष्ट्रिय सञ्जालमा जोडिएसँगै दुई छिमेकी मुलुक चीन र भारत जोड्ने सबभन्दा छोटो मार्गसमेत सोही सडक बनेको छ । उक्त सडकलाई चीनको स्वशासित क्षेत्र तिब्बत–मारिम्ला भन्ज्याङ–धो–दुनै–खदाङ–जाजरकोट–छिन्चु–नेपालगञ्ज हुँदै रुपैडिहा नाकाबाट भारत जोड्ने तयारी भइरहेको छ । दुवै छिमेकी मुलुकबाट प्रशस्त अवसर लिन सकिने सम्भावना भएकाले उक्त सडकलाई रणनीतिक महŒवको रूपमा लिइएको छ । दक्षिणमा भारतको रुपैडिहादेखि उत्तरमा तिब्बत–मरिमसम्मको दूरी करीब साढे ४ सय किलोमिटर हुने उल्लेख छ ।

प्रकाशित मितिः     २२ श्रावण २०७६, बुधबार ०८:१३  |