सुनको मूल्य एकै दिन १५ सय रुपैयाँ बढ्यो, तोलाको ६९५०० रुपैयाँ


काठमाडौँ।सुनको भाउ बुधबार १५ सय रुपैयाँले बढेर तोलाको ६९ हजार ५ सय रुपैयाँ कायम भएको छ।अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको भाउ बढेपछि त्यसको प्रभाव आन्तरिक बजारमा परेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले सुनको भाउले नयाँ कीर्तिमान बनाएको बताए। उनले सुनको भाउ लगातार बढिरहेको बताउँदै मूल्यका बारेमा आकंलननै गर्न नसकिने अवस्था रहेको बताए।

अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रति औंन्स २७ डलर पाँच सेन्ट बढेर १४ सय ८६ डलर ७० सेन्ट कायम भएको छ।योसँगै डलरको भाउ समेत बढ्दा त्यसले सुनको मूल्य बढाउन सहयोग गरेको हो।बुधबार एक अमेरिकी डलर बराबर १ सय १३ रुपैयाँ ७५ पैसा पुगेको छ।

गएको ६ दिनमा सुनको मूल्य प्रति तोला चार हजार रुपैयाँ वृद्धि भएको छ। गत साउन तीन गते ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य १० दिन स्थिर देखिएको थियो।साउन १३ गते तीन सय रुपैयाँले घटेर ६५ हजार दुई सय रुपैयाँ कायम भएको सुनको मूल्य तीन दिनपछि थप दुई सय रुपैयाँ घट्दै ६५ हजार रुपैयाँमा झरेको थियो।

त्यस यता प्रत्येक दिन सुनले नेपाली बजारमा मूल्यमा नयाँ रेकर्ड बनाएको छ। चाँदीको मूल्यपनि प्रति तोला १५ रुपैयाँ बढेर तोलाको ८१० रुपैयाँ कायम भएको छ।मंगलवार चाँदीको मूल्य ७९५ रुपैयाँ थियो।

प्रकाशित मितिः     २२ श्रावण २०७६, बुधबार १२:३८  |