नबिल बैंकबाट पैसा चोर्दै गर्दा पाँच चिनियाँ पक्राउ


काठमाडौंमा नक्कली एटीएम कार्ड प्रयोग गरी नबिल बैंकबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको टाेलीले उनीहरूका साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार युएस डलरसमेत बरामद गरेको छ।

दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट शनिबार साँझ पैसा चोरिरहेका बेला एक चिनियाँ नागरिक पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा बाँकी ४ जना पनि पक्राउ परेका हुन्। उनीहरूलाई दरबारमार्गस्थित माया मनोहर होटलबाट पक्राउ गरिएकाे डीएसपी बाेगटीले नेपालखबरलाई जानकारी दिए।  ‘अहिले उनीहरूलाई महानगरी प्रहरी परिसरमा टेकुमा राखेका छौं,’ उनले भने, ‘दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं।’ एटीएम प्रणाली कमजोर रहेको देशका बैंकबाट यसरी पैसा चोर्ने गिरोह रहेको प्रहरीको अनुमान छ।

प्रकाशित मितिः     १५ भाद्र २०७६, आईतवार ०९:५७  |