डुडुवा (बाँके) १६ भाद्र । जिल्ला बन डिभिजन कार्यालय बाँकेले अन्यत्रबाट गोही ल्याएर राप्ती नदीमा छोडेपछि स्थानीयले विरोध जनाएका छन । बाँके राप्ती नदीको पुलमुनि गोही छाडेपछि स्थानीय र पशु चौपायालाई जोखिम बढेको भन्दै स्थानीयबासीले आक्रोस व्यक्त गरेका हुन । राप्ती पुल छेउमा मन्दिर पनि रहेकाले त्यहाँ दैनिक मानिसहरु नुहाउने, पुजा पाठ गर्ने, पशुचौपाया तर्ने भएकाले सो स्थानमा गोही छाडेपछि विरोध शुरु भएको हो । नदीमा गोही छाड्नै परेपनि गाउँबस्तीदेखि अलि टाढा लगेर छोडेको भए जोखिमबाट बच्न सक्ने स्थानीय घनश्याम गुप्ता बताउनुहुन्छ ।
वन डिभिजन कार्यालयले बाँके खजुरा गाउँपालिका उढरापुरका एक स्थानीयको घरबाट उद्धार गरि करिब १२ किलो भएको एक वर्षको गोहीलाई राप्ती नदीमा आईतबार छोडेको जनाएको छ । स्थानीयको विरोध भएपछि गाउँपालिकाले समेत चासो देखाएर तत्काल वन कार्यालयसंग सम्पर्क गरि तीनभित्र गोहीको खोजी गरि अन्यत्र व्यवस्थापन गर्न पत्र समेत पठाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले राप्ती नदी नजिकै गाउँबस्ती रहेकाले मानिसहरुलाई नुहाउन, तथा मानव आवत जावत बढी भएर उच्च जोखिम बढाएकाले त्यहा नछोडेर जंगल क्षेत्र अन्र्तगत नदीमा छाडनुपर्ने भन्दै त्यसको व्यवस्थापनका लागि पहल गरेको बताउनु भयो ।
गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले विभिन्न विपत तथा जनावरको आक्रमणले बेला बेलामा दुखद घटना आईरहेका बेला बन कार्यालयले जोखिमपुर्ण कार्य गराएको प्रति ध्यानाकर्षण गर्दै गोही छाड्ने बेला परामर्श गरेको भए यस्तो समस्या नआउने बताउनु भयो ।
यता वन डिभिजन प्रमुख मोहन प्रताप श्रेष्ठले गाउँबस्ती नजिकै छाडिएकाले जोखिम बढाएको स्वीकार गर्दै सानो गोही भएकाले बग्न सक्ने सम्भावन रहेको बताउनुभयो । उहाँले त्यहाँ छोडन नहुने गल्ती सच्चाउदै अब त्यसलाई खोजी गर्दा पनि फेला पर्न गाह्रो भएकाले प्रयास गर्ने बताउनुभयो । गोहीका कारणले त्यस आसपास क्षेत्रका स्थानीय त्रसित भएका छन ।
https://nepalgunjbusiness.com/2019/09/10984/