दूधको मूल्य लिटरमै ६ रुपैयाँ बढाउन निर्णय


काठमाडौं।किसान र डेरी उद्योगको लागत बढेको भन्दै दूधको मूल्य लिटरमै ६ रुपैयाँ बढाउन निर्णय भएको छ।कृषिमन्त्री चक्रपाणी खनालले दूधको मूल्य लिटरमै ६ रुपैयाँ बढाउन सहमति दिएका छन्।

यो सहमतिसँगै दुग्ध विकास बोर्डको बैठक अहिले केहीबेरमा बस्दैछ।बोर्डका एक अधिकारीका अनुसार बोर्ड बैठकको प्रमुख प्रस्तावनै दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढाउने राखिएको छ।‘दूधको मूल्य लिटरको ६ रुपैयाँ बढाउने प्रस्ताव बोर्ड बैठकमा राखिएको छ।यो प्रस्ताव पारित भएर कार्यान्वयनमा आउनेछ’ ती अधिकारीले भने,’विहिबार निर्णय भए शनिबारदेखि बढेको मूल्य कार्यान्वयनमा आउनेछ।’ यो निर्णय भए दूध लिटरको ७६ रुपैयाँ पुग्नेछ।एक प्याकेट दूधको मूल्य ३८ रुपैयाँ पर्नेछ।

मूल्य नबढ्दा धान्नै नसकिएको भन्दै किसानले हड्तालको घोषणा गरेपछि एक महिना अघि कृषिमन्त्री खनालको संयोजकत्वमा चार दिन अघि राष्ट्रिय दुग्ध विकास बोर्ड,दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ र निजी डेरीहरुको संस्थाबीच भएको छलफलमा मूल्य बढाउन सहमति जुटेको थियो।त्यही छलफलमा दूधको मूल्य ६ रुपैयाँसम्म बढाउनुपर्नेमा सबै एकमत भएका थिए।

किसानले दुई वर्षदेखि मूल्य दूधको मूल्य नबढ्दा उत्पादन लागतनै धान्न नसकेको भन्दै हड्ताल गर्ने घोषणापछि मन्त्री खनालले सर्वदलीय छलफल डाकेका थिए। डेरी उद्योग संघले चैतदेखि भदौंसम्म लिटरमा १० रुपैयाँ र भदौंदेखि चैतसम्म लिटरमा ६ रुपैयाँ मूल्य बढाउन प्रस्ताव गरेको थियो।चैतदेखि भदौंसम्म दूधको उत्पादन कम हुन्छ भने भदौंदेखि चैतसम्म दूध उत्पादन धेरै हुने भएकाले दुईथरी मूल्य राख्न प्रस्ताव गरेको संघले गरेको हो।

कति पाउँछन् किसानले?

दूधको मूल्य बढ्दा त्यसको धेरै ६९ प्रतिशत हिस्सा किसानले पाउँछन्।उदाहरणका लागि लिटरमा ६ रुपैयाँ मूल्य बढे किसानले ४ रुपैयाँ १४ पैसा पाउँछन् भने डेरी उद्योगले १ रुपैयाँ ८६ पैसा पाउँछन्।

प्रकाशित मितिः     १९ भाद्र २०७६, बिहीबार १६:४४  |