कर कार्यालय र बैंकमा बुझाउने विवरण फरक परे ऋण नपाइने


नेपालगञ्ज -अबदेखि कर कार्यालयमा बुझाएको वित्तीय विवरणका आधारमा मात्र बैंक तथा वित्तीय संस्थाहरुले ऋण दिने भएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि राजश्व ब्यवस्थापन महाशाखाको आग्रह अनुसार कर कार्यालयको बिवरणसँग रुजु गरेर मात्र ब्यवसायीलाई ऋण दिन बैंकहरुलाई निर्देशन दिएको छ। ब्यवसायिक ऋण प्रवाह गर्दा आन्तरिक राजश्व विभागको एकिकृत कर प्रणालीमा समावेश गरिएको ऋण लिन चाहेको ब्यक्तिले भर्नु पर्ने वित्तीय विवरणसँग सबन्धित सूचना र त्यसको विवरणको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य रुपमा प्रविष्ट गर्नु ब्यवस्था गर्न भनिएको छ।

ब्यवसायिक फर्महरुले बैंकलाई बुझाउने विवरण नाफाको र सरकारलाई बुझाउने घाटाको बनाएपछि त्यसलाई रोक्न यस्तो ब्यवस्था गरिएको हो। ब्यवसायीले सरकारलाई कर कम तिर्ने तर त्यही परियोजनाबाट नाफा आर्जन गर्ने प्रबृत्ति भएको भन्दै दोहोरो वित्तीय विवरण निरुत्साहित गर्न नयाँ ब्यवस्था गरिएको हो। अबदेखि कर कार्यालय र बैंकलाई बुझाउने वित्तीय विवरण एउटै हुनु पर्छ। एउटै नभए बैंकले ऋण दिँदैनन्।

प्रकाशित मितिः     २० भाद्र २०७६, शुक्रबार १७:१४  |