दक्षिण एसियाको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन संचालनमा, ओली र मोदीले गरे उद्घाटन


काठमाडौं।झण्डै दुई दशकअघिको योजना नेपाल-भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि संचालनमा आएको छ। भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले एकैसाथ स्विच थिचेर औंपचारिक उद्घाटन गरिएको छ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ-आफ्नो कार्यालयमा स्विच थिचेपछि मोतिहारीबाट पाइपलाइन हुँदै तेल अमलेखगन्जमा आइपुगेको छ।उद्घाटनपछि भिडियो कन्फ्रेन्सिङका माध्यमबाट मन्तब्य समेत दिइएको थियो।

भारतीय प्रधानमन्त्री मोदीले तोकिएको समय भन्दा अगावै पाइपलाइन निर्माण भएको बताउँदै यसको श्रेय नेपाल र आफ्नो नेतृत्वलाई दिए।‘दक्षिण एशियाकै पहिलो क्रस ब्रोडर पेट्रोलियम पाइपलाइन निर्माणमा रेकर्ड ब्रेक भएको छ। यसको श्रेय नेपाललाई  र सँगै हाम्रो नेतृत्वलाई दिन चाहन्छु,’मोदीले भने,’पाइपलाइन निर्माणसँगै नेपाली जनताले तत्कालै राहत पनि पाएका छन्। त्यसबाट मलाई पनि गौरवान्वित बनाएको छ।’

पाइपलाइन उद्घाटनकै आधा घण्टा अघि नेपाल आयल निगमले पेट्रोल,डिजल र मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँ घटाएको थियो।‘नेपालले पेट्रोलियम पदार्थको मूल्य कम गर्ने घोषणा गरिसकेको छ।पाइपलाइन संचालन आएसँगै सामान्य नागरिकको भलाईका लागि मूल्य कम हुँदाको साक्षी पनि म बन्न पाएकोमा खुशी छु’उनले भने।

३० महिनामा सक्ने लक्ष्य राखिएको परियोजना करिब डेढ वर्षमा नै सकिएको हो।०७४ चैतमा दुवै देशका प्रधानमन्त्रीले दिल्लीमा स्विच थिचेर परियोजनाको शिलान्यास गरेका थिए।यसअघि साउन पहिलो साता पाइपलाइनको परीक्षण गरिएको थियो। नेपालतर्फ भने पाइपलाइन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ।पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात भएपछि ढुवानीमा खर्च हुँदै आएको ठूलो रकम जोगिनेछ।

प्रकाशित मितिः     २४ भाद्र २०७६, मंगलवार १६:०७  |